काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र घरेलु टोली ओमान भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपालको शीर्ष चारमा पुग्ने सम्भावना सकिसकेको छ भने ओमानलाई शीर्ष चारमा बसिराख्न आजको खेल महत्त्वपूर्ण रहेको छ । आजको खेलमा जित निकालेको खण्डमा ओमानले शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्नेछ । यता नेपालले बाँकी तीन खेल मध्ये दुई खेलमा जित निकालेको खण्डमा शीर्ष ६ मा रहेर लिगको अन्त्य गर्नेछ ।
हाल ओमान २९ खेलबाट ३३ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ भने नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।
ओमानले सिरिजको पहिलो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो भने नेपाललेपनि क्यानडालाई २४ रनले हराएको थियो । नेपाल र ओमानबीच भएको पछिल्लो ११ भेटमा ओमानले ६ खेल जित्दा नेपालले ५ खेल जितेको छ ।
