रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल आयात गर्ने घोषणा गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यस कदमको आलोचना गर्दै यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने बताएका छन् ।

ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउनेछ । त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन र त्यसलगत्तै अर्को १० लाख टन डिजेल आपूर्ति गरिनेछ ।

शुक्रबार गरिएको उक्त घोषणाप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले यसलाई अन्त्य गर्नुपर्ने युद्धमा लगानी गर्ने कदमको संज्ञा दिएका छन् । उनका अनुसार रुसलाई यस्तो सुविधा दिनुले शान्ति स्थापनामा सहयोग पुग्ने छैन, बरु युद्ध लम्बिने जोखिम बढ्नेछ ।

सम्झौताअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले आगामी अप्रिल ७ सम्म रुसी डिजेल निर्यातमाथिका प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने तयारी गरेको बताइएको छ । यद्यपि अमेरिकी बैंकमा रहेका रुसी सम्पत्तिलगायत अन्य प्रतिबन्धित सम्पत्ति भने रोक्का नै रहनेछन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत छोटो समयमै थप ३० लाख टन डिजेल उपलब्ध गराइने बताएका छन् । यद्यपि यसको आपूर्ति रुसका तेल प्रशोधन केन्द्रहरूको अवस्थामाथि निर्भर रहनेछ । ती केन्द्रहरू युक्रेनी आक्रमणको निशानामा पर्दै आएका छन् ।

यस वर्षको सुरुदेखि डिजेल निर्यातमा प्रतिबन्ध लगाएको रुसले अमेरिकी तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको पुटिनले पनि बताएका छन् । तर, उनले आपूर्तिको परिमाण भने खुलाएका छैनन् ।

विश्लेषकहरूले रुसले ट्रम्पले घोषणा गरेअनुसारको परिमाणमा डिजेल उपलब्ध गराउन सक्ने क्षमतामाथि प्रश्न उठाएका छन् । यसले अमेरिकी बजारमा इन्धनको मूल्य घटाउन कति सहयोग गर्छ भन्नेमा पनि उनीहरूले आशंका व्यक्त गरेका छन् ।

क्विल्टर चेभियटका लगानी रणनीतिकार टिम आर्मिटेजका अनुसार पहिलो चरणमा उपलब्ध गराइने तीन लाख टन डिजेल करिब २२ लाख ५० हजार ब्यारेल बराबर हुन्छ । अमेरिकामा दैनिक करिब ३८ लाख ब्यारेल डिजेल खपत हुने भएकाले यसले इन्धनको मूल्यमा उल्लेखनीय प्रभाव नपार्ने उनको भनाइ छ ।

उनले मध्यावधि निर्वाचनअघि मुद्रास्फीति घटाउने प्रयासमा ट्रम्पले हतास कदम चालेको हुन सक्ने टिप्पणी गरेका छन् । यस सम्झौताबापत रुसले अमेरिकाबाट के प्राप्त गर्नेछ भन्ने विषयमा बीबीसीले ह्वाइट हाउससँग प्रतिक्रिया मागेको छ ।

अमेरिकामा इन्धनको मूल्य पछिल्ला महिनामा तीव्र रूपमा बढेको छ । गत फेब्रुअरीमा सुरु भएको इरान युद्धले विश्व ऊर्जा बजारमा पारेको प्रभावका कारण पेट्रोल र विशेषगरी डिजेलको मूल्य बढ्दा ट्रम्पमाथि राजनीतिक दबाब थपिएको छ ।

अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार अमेरिकामा डिजेलको औसत मूल्य प्रतिग्यालन ६.२८ अमेरिकी डलर पुगेको छ । यो सेप्टेम्बरको अन्त्यमा कायम भएको प्रतिग्यालन ६.५३ डलरको कीर्तिमानी मूल्यभन्दा कम हो ।

ट्रम्पको घोषणालगत्तै अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेललाई बजारमा प्रवेश दिन अस्थायी अनुमति जारी गरेको थियो ।
पुटिनका विशेष दूत किरिल दिमित्रिएभले रुस–अमेरिका ऊर्जा सहकार्यले विश्वलाई फाइदा पुग्ने भन्दै सम्झौताको स्वागत गरेका छन् ।

यता जेलेन्स्कीले पुटिनलाई उपहार दिँदैमा शान्ति स्थापित नहुने बताएका छन् । रुसले यसको बदलामा थप आतंक फैलाउने उनको आरोप छ । उनले युक्रेनको रक्षा र नागरिकको सुरक्षाका लागि अमेरिकाले बलियो समर्थन गर्नुपर्ने तथा रुससँग कडा रूपमा संवाद गर्नुपर्ने बताएका छन् ।

बेलायत सरकारले पनि युक्रेनलाई आवश्यक सैन्य तथा आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *