काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद नीनुकुमारी कर्णले जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार र प्रक्रियामाथि प्रश्न उठाउँदै घटनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
उनले सुरक्षा चुनौती रहेको भए राज्यले सुरक्षा उपलब्ध गराउनुपर्ने भन्दै नागरिकको स्वतन्त्रता नियन्त्रण गर्ने अवस्थामा त्यसको स्पष्ट कानुनी आधार आवश्यक हुने बताइन्।
कर्णले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेट गर्न नदिइएको विषयमा पनि आपत्ति जनाइन्।
कुनै व्यक्तिको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानप्रदत्त अधिकारको प्रयोग फरक ढंगले गर्न नमिल्ने भन्दै उनले कसैले कसुर गरेको भए निष्पक्ष अनुसन्धान र स्थापित कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने बताइन् ।
‘राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन,’ कर्णले भनिन्, ‘देश व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि, पद्धति र संविधानअनुसार चल्नुपर्छ।’
उनले जबरलाई नियन्त्रणमा लिनुपर्नाको कानुनी आधार, सुरक्षा चुनौतीसम्बन्धी सूचना तथा मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न रोक्नुको कारणबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरिन्।
