निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

 

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो ।

“पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इञ्जिनियर विशाल श्रेष्ठले भने।

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्मन भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ । “अहिले भुइँतला र पहिलो तल्लाको भित्री भागमा काम भइसकेको छ भने दोस्रो र तेस्रो तलामा काम भइरहेको छ”, उनले भने ।

नेपाल सरकारले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७८ साल असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । कुल  २६ करोड ४८ लाख २७ हजार ४०४ को लागतमा बन्ने उक्त भवन विसं २०८१ असार २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि पुनःम्याद थप गरी आगामी पुस मसान्तसम्मको समय तोकिएको छ । थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई गति दिएको इन्जिनियर श्रेष्ठले बताए। निर्माण कम्पनीलाई कार्यालयको तर्फबाट पनि ताकेता गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *