नेपालसँग विश्वलाई गर्व गरेर सुनाउनुपर्ने कुरा नै के छ र-हिमाल, वन र बुद्धबाहेक ?

उत्तमबाबु श्रेष्ठ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन साहको भाषणको विषयवस्तु राम्रो लाग्यो । देशले भोगेको जलवायु अन्यायदेखि विकासका समस्या भने, र सँगै देशले गरेको वातावरण संरक्षण, हरित ऊर्जाको विकास, विद्युतीय गाडीको अवलम्बनका राम्रा उदाहरणहरू पनि सुनाए । संयुक्त राष्ट्रसङ्घको स्थापनाको उद्देश्य र इतिहास सम्झाए; अनि त्यो विश्व–व्यवस्था (वल्र्ड अर्डर) अहिले भताभुङ्ग हुन लागेकामा चिन्ता र चासो व्यक्त गरे। अनि थोरै आफू कान्छो प्रतिनिधि भएको, जेनजी आन्दोलनको पृष्ठभूमि र त्यसको विश्वव्यापी प्रभावका बारेमा पनि भने। अनि सन्तुलित विश्व कस्तो हुनुपर्छ भन्ने कुराको सानोतिनो दृष्टिकोण (भिजन) पनि दिए। सम्भवतः हामीले पढेको राम्रो भाषणमा हुनुपर्ने अवयवहरू यिनै त हुन्।

भाषागत क्लिष्टताबाहेक नेपालसँग विश्वलाई गर्व गरेर सुनाउनुपर्ने कुरा नै के छ र—हिमाल, वन र बुद्धबाहेक। बालेन, प्रचण्ड, ओली, शेरबहादुर सबैले र तपाईं–हामीले पनि विश्वमञ्चमा भन्ने कुरा यिनै वन र बाघको संरक्षणको मात्रै हो, जुन कुरा गर्दा देशभित्र फेरि विकासविरोधी भनिन्छ र संरक्षणका कुरा गर्नेको हुर्मत लिइन्छ। हिमाल फोहोर पारेका छौँ, कुरूप बनाएका छौँ, बुद्धको बाटोमा हिँड्न मनै छैन। सोचौँ त, हामीले ‘ग्लोबल कमन्स’ (विश्वव्यापी साझा स्रोत) मा के नै योगदान दिएका छौँ र? के नेपालले उत्पादन र विकास गरेको, हामीले बनाएको कुरा मानव समाजले उपभोग गरेको छ र? यसो हेरौँ त, हामीले दैनिक प्रयोग गर्ने वस्तुहरू हामीकहाँ आइपुग्दा, तिनलाई बनाउन चाहिने प्रविधि, विज्ञान, अनुसन्धान, अन्वेषणदेखि उत्पादनसम्म हाम्रो भूमिका कहाँ छ? हाम्रो भूमिका सीमित उपभोक्तामा मात्रै छ। त्यसैले हामीसँग विश्वलाई सुनाउन लायक र आफूले गर्व गर्न लायक कुरा केही छैन (माथि उल्लेख गरिएका बाहेक)। त्यसैले मिस वल्र्ड प्रतियोगितामा भाग लिनेदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने र हामीजस्ता कहिलेकाहीँ विश्व वैज्ञानिक सम्मेलनहरूमा प्रिजेन्टेसन दिनेहरूले पनि भन्ने यिनै कुरा हुन्।

मैले अङ्ग्रेजीमा भाषण गरेको भए योभन्दा अझै राम्रो हुन्थ्यो भन्दिनँ; तर उनले अलि राम्रो अभ्यास गरेको भए थप सुधार गर्न सकिन्थ्यो। अलि चाँडो पढे, उच्चारण गर्न अप्ठ्यारा शब्दहरू हटाएर सहज शब्दहरू राखेको भए हुन्थ्यो। पूर्णविरामको खासै वास्ता गरेको जस्तो लागेन, न त अल्पविराम (कमा) को नै ख्याल गरे। बोलीमा आत्मविश्वासपूर्ण भाव देखिएन। यसअघिका प्रधानमन्त्रीहरूको भाषण पनि लगभग यस्तै हुन्थ्यो, तर उनीहरूमा अलि बढी आत्मविश्वास भएजस्तो लाग्थ्यो—उमेर र अनुभवका हिसाबले पनि होला। तापनि उनले संयुक्त राष्ट्रसङ्घको महासभामा हुटिङ गर्ने दर्शक र श्रोता भने पाएछन् । सुधार्नुपर्ने त त्यो हुटिङ गर्ने बानी पो हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *