काठमाडौं । अस्ट्रेलियाका अनुभवी स्टार ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत ३९ वर्षीय वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हो । वार्नरको आगमनसँगै एनपीएलमा सहभागी हुने सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरमध्ये एकका रूपमा उनको नाम थपिएको छ ।
आक्रामक बायाँहाते ओपनर वार्नर अस्ट्रेलियाका सफल आधुनिक क्रिकेटरमध्ये एक हुन् । उनले अस्ट्रेलियालाई सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा २०२१ को टी–२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जित्ने अस्ट्रेलियाली टोलीका सदस्यसमेत हुन् ।
वार्नरले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजारभन्दा बढी रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा भने उनको प्रदर्शन अझ प्रभावशाली छ । उनले ४३९ खेलबाट १४ हजारभन्दा बढी रन बनाइसकेका छन्, जसमा १० शतक र ११८ अर्धशतक छन् ।
फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव बोकेका वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र भाइटालिटी ब्लास्टलगायत प्रतियोगितामा खेलिसकेका छन् ।
आईपीएलमा वार्नरको प्रभाव विशेष रहँदै आएको छ । उनले प्रतियोगितामा ६ हजारभन्दा बढी रन बनाएका छन् भने तीनपटक सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने ‘ओरेन्ज क्याप’ जितेका छन् । सन् २०१६ मा उनको कप्तानीमा सनराइजर्स हैदराबादले पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।
वार्नरले सन् २०२४ मा अस्ट्रेलियाका लागि अन्तिम टेस्ट खेलेका थिए । सोही वर्ष उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यास लिए । २०२४ को टी–२० विश्वकपमा अस्ट्रेलियाको यात्रा समाप्त भएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत आफ्नो खेलाडी जीवन टुंग्याउने घोषणा गरेका थिए ।
