काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजीका क्रममा थप तीन वटा शव फेला परेका छन् ।
विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले उपलब्ध जनशक्ति परिचालन गर्दै हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा एक्स्काभेटर र लोडर पुर्याएर सुरुङसम्म करिब १ हजार ५० मिटर बाटो निर्माण गरी डेब्रिज हटाउने काम गर्दै आएको थियो ।
डेब्रिज हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको प्वाल फेला परेको थियो । उक्त प्वालबाट उद्धार टोली करिब १३० मिटरसम्म प्रवेश गरी खोजी गर्दा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेका कारण एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो ।
यसै क्रममा बुधबार भदौ ३१ गते गोताखोरसहितको टोलीले उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम भागसम्म खोजी गर्दा तीन वटा शव फेला पारेको नेपाली सेनाले जनाएको हो ।
फेला परेका तीन शवमध्ये दुई वटा शव बाहिर निकालिएको छ भने बाँकी एक शव निकाल्ने कार्य जारी रहेको सेनाले बाताएको छ । सुरुङमा थप खोजी तथा उद्धार कार्यसमेत जारी रहेको छ ।
