काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निष्कल राईले नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले भोटेकोशी बाढीपछिको विपद्मा पहिलो दिनदेखि नै आफूहरूले सरकारलाई साथ दिएको अवगत गराए ।
उनले भने, “हामीले सुरुदेखि नै सरकारसँग समन्वय गरेको हो । पीडित नागरिकसम्म पुगेको हो । सुरक्षा निकायको उद्धार प्रयासको सम्मान गरेको हो ।” सरकारले भोटेकोशी विपत्तिमा परेका नागरिकले तत्काल राहतको अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
सचेतक राईले भोटेकोशी एउटा प्राकृतिक घटना मात्रै नभई यसले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता, अन्तरनिकाय समन्वय, पूर्वाधारको सुरक्षा र पुनःस्थापनामा राज्यको क्षमता र शासकीय नेतृत्वलाई परीक्षण गरेको घटना भएको उल्लेख गरे । उनले पीडितलाई सुरक्षित ठाउँमा बसाल्ने, आवासको व्यवस्था गर्ने, जिविकोपार्जन पुनःस्थापित गर्ने, सडक–पुल–विद्युत–खानेपानी पुनःनिर्माण गर्ने र मनोसामाजिक पुनःस्थापना गर्ने स्पष्ट योजना आवश्यक रहेको उल्लेख गरे ।
