न्याय परिषद बैठकद्वारा सर्वोच्चको रजिष्ट्रारमा दाहाल र कट्टेल सिफारिस, उच्च र जिल्ला न्यायाधीशहरुको सरुवा

काठमाडौँ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । त्यस्तै बैठकले सहरजिष्ट्रार बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।

त्यस्तै बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज तथा नियुक्तिका लागि सिफारिस गरेको छ ।

उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको सरुवा सिफारिस गरेको छ ।
उपाध्यायलाई उच्च अदालत विराटनगरबाट उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज, श्रेष्ठलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलास र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ।

त्यस्तै नातिबाबु लामिछाने, गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई विभिन्न अदालतमा काज खटाउन सिफारिस गरिएको छ।

यसैगरी जिल्ला अदालतका न्यायाधीशहरूको पनि सरुवा तथा काज सिफारिस गरिएको छ। परिषद्को निर्णयअनुसार किशोर घिमिरेलाई सिन्धुली, दीपक ढकाललाई कास्की, सन्तोषप्रसाद पराजुलीलाई सप्तरी, विनोद खतिवडालाई भक्तपुर, गीता श्रेष्ठलाई काभ्रेपलाञ्चोक, टेकराज जोशीलाई रौतहट, रोमाकान्त ज्ञवालीलाई सुनसरी, दुर्गादेवी गुरुङलाई बारा, नरेन्द्रबहादुर बुढालाई सुर्खेत, कमलकान्त जोशीलाई काठमाडौं र दुर्गाप्रसाद बस्याललाई दाङ जिल्ला अदालतमा सरुवा÷काजका लागि सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *