काठमाडौं । राजनीतिक विश्लेषक झलक सुवेदीले ‘द ग्रेजोन’ले नेपालबारे प्रकाशित गरेको रिपोर्टमाथि बहस आवश्यक रहेको बताएका छन्। ग्रेजोनको रिपोर्ट सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि केही साथीहरू आक्रोशित भएको उल्लेख गर्दै सुवेदीले असहमत हुने र आफ्नो धारणा राख्ने अधिकारको सम्मान गर्नुपर्ने बताएका छन्।
उनले कुनै व्यक्तिमाथि आरोप लाग्दैमा उनको राष्ट्रप्रेममाथि प्रश्न उठाउनु अन्यायपूर्ण हुने बताएका छन् । साथै, कसैले आलोचना गर्दैमा आफू प्रधानमन्त्री वा अन्य राजनीतिक नेतामाथि लाञ्छना लगाउने पक्षमा नरहेको उनले बताएका छन् ।
सुवेदीले अमेरिकी संस्था नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी (NED) को स्थापना र गतिविधिबारे अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्नो पुस्तक After the Neocon मा NED मार्फत राजनीतिक व्यक्ति तथा नागरिक समाजमा लगानी गर्ने अमेरिकी नीतिबारे उल्लेख गरिएको बताएका छन्।
सर्बिया, जर्जिया र युक्रेनमा भएका सत्ता परिवर्तन तथा ‘कलर रिभोलुसन’मा NED र USAID को भूमिकाबारे प्रश्न उठेको भन्दै उनले नेपालमा पनि यस्ता विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन्।
नेपालमा भदौ २४ गते भएका घटनामा संलग्न तथा अहिले सरकारमा महत्त्वपूर्ण भूमिकामा रहेका केही व्यक्तिको सम्बन्ध उक्त फन्डसँग रहेको भन्ने प्रश्न उठेको भन्दै सुवेदीले यसको वास्तविकता राज्यका सुरक्षा संयन्त्रले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
‘यो कति संयोग हो र कति योजनाबद्ध थियो भनेर राज्यको सुरक्षा रणनीति बनाउनेहरूले जाँच्लान्,’ उनले लेखेका छन्।
सुवेदीले विदेशी फन्ड कसले, किन र कुन अवस्थामा लिन पाउने भन्नेबारे राज्यले स्पष्ट नीति बनाउनुपर्ने धारणा राखेका छन् । साथै, विदेशी संस्थाबाट प्रकाशित समाचार तथा विश्लेषणलाई तत्कालै सत्य मानेर निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ।
नेपालमा अमेरिकी चासो चीनसँगको सम्बन्ध तथा नेपालमा कम्युनिस्ट पार्टीहरू सत्तामा नआऊन् भन्ने रणनीतिसँग जोडिएको उनको दाबी छ। विगतमा नेपालमा सीआईएका गोप्य गतिविधि भएको दाबी गर्दै उनले चितवनको टाइगर टप्स र खम्पा अपरेसनको उदाहरणसमेत दिएका छन्।
तर, जेनजी आन्दोलनलाई पूर्ण रूपमा बाह्य शक्तिले सञ्चालन गरेको आन्दोलनका रूपमा व्याख्या गर्नेहरूसँग भने आफ्नो असहमति रहेको सुवेदीले बताएका छन्। उनले जेनजी आन्दोलनलाई बाह्य शक्तिको कदम मात्र भनेर अवमूल्यन गर्नु गलत हुने तर आन्दोलनभित्र बाह्य स्वार्थ हुँदै नभएको निष्कर्ष निकाल्नु पनि गलत हुने बताएका छन्।
