काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा, स्वास्थ्य र खानेपानी सेवासहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ ।
दर्शनार्थीको व्यवस्थापन, शान्ति–सुरक्षा तथा स्वास्थ्य सेवाका लागि सोमबार बिहान २ बजेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टोली खटाइएको छ । यस्तै, खानेपानीको व्यवस्थाका लागि प्रधान कार्यालयबाट ट्यांकरसहितको टोली परिचालन गरिएको छ ।
सम्भावित दुर्घटनाका लागि पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
तीजको मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन मन्दिर परिसर र आसपासका क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मीसहित व्यापक निगरानी बढाइएको छ । तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर र गौरीघाटलगायत क्षेत्रमा समेत गस्ती बढाइएको छ ।
आवश्यक समन्वयका लागि पशुपति मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।







