बुर्तिबाङ अस्पतालमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी शल्यक्रिया

 

बागलुङ । स्तरोन्नतिकै चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा जटिल शल्यक्रिया हुन थालेको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा नशा रोगसम्बन्धी शल्यक्रिया हुन थालेको छ ।

अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमासम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए ।

अस्पतालमा शनिबार एकै दिन तीन बिरामीको सफल शल्यक्रिया गरिएको थियो । जसमा स्थानीय ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी भाँचिएको समस्या, ४० वर्षीया महिलाको दाहिने हातको नसा च्यापिएको समस्या र १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो ९सिस्ट० को शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन डा पोखरेलले जानकारी दिए।

अस्तालका डा अविशेक चौहानको नेतृत्वमा डा दिनेश थापा र डा सुरज नेपालीसहितको समूहले सफल शल्यक्रिया गरेको मेसु पोखरेलले जानकारी दिए । ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोमा भाँचिएको हड्डीलाई प्रविधिबाट पाता तथा स्क्रूको प्रयोग गरी जोडिएको थियो ।

त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातमा रहेको समस्याका लागि नसामा परेको दबाब हटाउने शल्यक्रिया गरिएको हो ।

त्यसैगरी, १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो÷गिल्टीलाई शल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाडजोर्नी तथा ट्रमासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुलाई अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *