बेलायती पूर्वप्रधानमन्त्री जोन्सनसहित युरोपेली अधिकारी चढेको युक्रेनी रेलमा रुसी ड्रोन आक्रमण

बीबीसी । रुसले युक्रेन–पोल्यान्ड सीमास्थित याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ । बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू सोही रेलमार्गबाट फर्किएको केहीबेरपछि आक्रमण भएको हो।

रुसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको भएपनि मानवीय क्षति भने नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। रेलमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।

जोन्सनसहित बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली सुरक्षा अधिकारीहरू कीभमा आयोजित सम्मेलनबाट फर्कने क्रममा केही समयअघि सोही रेलमार्गबाट फरक रेलमा गएका थिए ।

रुसले पश्चिमी युक्रेनको ‘रेल पूर्वाधार’लाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। तर युक्रेनको सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याले ड्रोनको सम्भावित लक्ष्य कूटनीतिक रेल हुन सक्ने बताएको छ।

आक्रमणका बेला याहोदिन स्टेसनमा रहेका पूर्वसीआईए प्रमुख डेभिड पेट्रियसले घटनालाई ‘डर लाग्दो’ भनेका छन्। उनले युक्रेनी नागरिकलाई आतंकित पार्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाए।

युक्रेनी रेल कम्पनीका अनुसार रुसी आक्रमणको निरन्तर जोखिमका कारण समयतालिका परिवर्तन गरी रेललाई अपेक्षाभन्दा केहीअघि नै स्टेसनबाट पठाइएको थियो। आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि यात्रुलाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको थियो।

युक्रेन र पोल्यान्डका अधिकारीहरूले आक्रमण भएको स्थान पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा रहेको बताएका छन्।

पूर्वस्विडेनी प्रधानमन्त्री कार्ल बिल्टले आफू सवार रेललाई पनि केही समय रोक्दै यात्रुलाई सम्भावित उद्धारका लागि तयार रहन भनिएको बताएका छन्। अवस्था सुरक्षित रहेको जानकारीपछि उक्त रेललाई यात्रा जारी राख्न दिइएको र त्यसले पोल्यान्डको दोरोहुस्क सीमावर्ती स्टेसनमा सुरक्षित रूपमा पुगेको उनले बताए।

जोन्सनले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणको आलोचना गर्दै युक्रेनले दैनिक भोगिरहेको ‘अर्थहीन आक्रमण’को यो अर्को उदाहरण भएको बताएका छन्। उनले युक्रेनका सहयोगी राष्ट्रलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्।

युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले आक्रमणलाई ‘बर्बर’ भन्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गतिविधि युरोपेली संघ र नेटोको सीमासम्मै आइपुगेको बताएका छन्।

यसैबीच, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले घटनाबारे आपतकालीन बैठक बोलाएका छन्। उनले रुसी गतिविधि बढ्दै गएको र रुसको गतिविधि पोल्यान्डको सीमातर्फ नजिकिँदै गएको बताएका छन्। जोनसनसहित युरोपेली सुरक्षा अधिकारीहरू कीभमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनबाट फर्किरहेका थिए। सम्मेलनमा राजनीति, व्यवसाय, सुरक्षा तथा सञ्चार क्षेत्रका नेता र विज्ञ सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *