असन्तुष्टि संवादबाट सम्बोधन गर्दै महाधिवेशनमा सबैलाई समेट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले असोज ३ र ४ गतेदेखि सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना हुँदैछ ।

बैठकले महाधिवेशनलाई सांगठनिक प्रक्रिया मात्रै नभई राजनीतिक महाउत्सवका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सबै तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टी सदस्यलाई आग्रह गरेको छ।

महाधिवेशन प्रक्रियामा कुनै पनि क्रियाशील सदस्य नछुटून् भन्ने उद्देश्यले सदस्यता अद्यावधिक प्रक्रियामा छुटेका सदस्यलाई समेत सहभागी गराउने निर्णयअनुसार प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ । पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा कानुनबमोजिम पार्टी सदस्य बन्न नमिल्नेबाहेक अन्य क्रियाशील सदस्यलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने निर्णय गरिएको छ।

बैठकले पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद, सहमति र सहकार्यबाट सम्बोधन गर्दै महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यसैगरी, विशेष महाधिवेशनअघि तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई विधानबमोजिम १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउन आवश्यक व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले प्रस्तुत गरेको १५ औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली बैठकले स्वीकृत गरेको छ।

कांग्रेसले असोज ३ गतेदेखि वडा तहबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई उत्साहपूर्वक सफल बनाउन सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई अपील गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *