उपन्यास ‘सेतो धरती’मा आधारित नाटकको पोखरामा मञ्चन

काठमाडौँ । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेद्वारा लिखित चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटकको पोखरा थिएटर गैह्रापाटनमा मञ्चन सुरु भएको छ ।

नाटकको पोखरा मञ्चनको पहिलो शोको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् । काठमाडौंमा १०१ शो पूरा गरिसकेको र विराटनगरमा समेत सफल प्रदर्शन गरेको नाटक पोखरेली दर्शकको निरन्तर मागपछि पोखरा ल्याइएको हो ।

प्रमुख आचार्यले पोखरा कला, साहित्य र सिर्जनाको सहर भएको भन्दै ‘सेतो धरती’ पोखराका लागि विशेष नाटक भएको बताए । उनले भने, ‘नाटक जीवन्त कलामा आधारित विधा हो । सेतो धरती नेपाली समाज, संस्कृति र परम्पराको प्राचीन अवस्थालाई प्रतिनिधित्व गर्ने कथा हो । यस अर्थमा यो पोखराको आफ्नै कथा जस्तो पनि लाग्छ, यसले पोखरामा बोलिने भाषा र शैलीलाई दुरुष्ट पोखरेली लवजमा प्रस्तुत गरी नाटक मार्फत पोखरालाई भाषिक न्याय समेत गरेको अनुभूति मैले गरेँ ।’

लेखक अमर न्यौपानेले आफ्नो उपन्यासलाई रंगमञ्चमा मौलिकता कायम राख्दै प्रस्तुत गरिएको बताउँदै पोखरेली दर्शकलाई नाटकलाई माया गरिदिन आग्रह गरे । उनले साहित्यलाई रंगमञ्चसँग जोड्ने प्रयासले नेपाली साहित्य र रंगमञ्चबीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गरे ।

यसअघि नाटक काठमाडौंमा १०१ शोसम्म मञ्चन भएको थियो भने विराटनगरका प्रदर्शनसमेत दर्शकको उत्साहजनक सहभागिता बीच सम्पन्न भएका थिए ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेको नाटकमा गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, विरान दाहाल, प्रतीक चौधरी, संस्कार चौलागाँई लगायत कलाकारको अभिनय रहेको छ । नाटकले बालविवाह, बालविधवा, महिला जीवन, सामाजिक संरचना र महिलाको अस्तित्वसँग जोडिएका गम्भीर विषयलाई संवेदनशील रूपमा रंगमञ्चमा प्रस्तुत गरेको छ ।

पोखरामा नाटक भदौ २६ देखि २९ गतेसम्म मञ्चन हुनेछ । पहिलो दिन साँझ ५ बजे एक शो भएपनि शनिबार बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो सञ्चालन हुनेछन् । नाटकको अवधिमा लेखक अमर न्यौपानेको सहभागितामा साहित्य मन्थन, पुस्तक हस्ताक्षर तथा दर्शकसँग अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *