काठमाडौँ । उद्योगी विनोद चौधरीले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगानीको वातावरण सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रधानमन्त्रीसँग भएको दुई घण्टा लामो छलफलमा चौधरीले स्थिर सरकार, भ्रष्टाचार तथा बिचौलियाको अन्त्य, वित्तीय अपराधलाई कडाइका साथ सम्बोधन र राम्रो काम गर्ने उद्यमीलाई थप प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेको बताएका छन् ।
उनले सरकारबाट सकारात्मक संकेत देखिए पनि वन, खानी, जलविद्युत् आयोजना, लगानीकर्ता सहभागिता तथा विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका विषयमा कार्यान्वयन तहमा अझै ढिलासुस्ती रहेको बताए। पुरानो कार्यशैली र निर्णय प्रक्रियाका कारण उद्यमी–व्यवसायीमा अन्योल कायमै रहेको उनको भनाइ छ।
चौधरीले बैंकिङ प्रणालीमा तरलता र ब्याजदर घटे पनि अपेक्षित लगानी हुन नसकेको भन्दै लगानीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमै तत्काल निर्णय गर्न सक्ने संयन्त्र बनाउनुपर्ने सुझाव दिए।
उनका अनुसार अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका उद्यमी–व्यवसायीसँग प्रधानमन्त्रीको निरन्तर संवाद आवश्यक छ। साथै, उद्यम व्यवसायलाई अप्ठ्यारो पार्ने उद्देश्यले निर्माण गरिएका पुराना तथा तदर्थवादी कानुन तत्काल सुधार गर्नुपर्नेमा उनले जोड दिए।
चौधरीले पूर्व–पश्चिम रेलमार्ग, रासायनिक मल कारखाना, नयाँ पर्यटकीय गन्तव्यको विकास, हवाई कनेक्टिभिटी विस्तार गरी ५० लाख पर्यटक भित्र्याउने लक्ष्य र सूचना प्रविधि क्षेत्रको निर्यात बढाउनेलगायतका दीर्घकालीन परियोजना अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन्।
त्यस्तै, नेपालमा ‘एजुकेसन सिटी’को अवधारणा कार्यान्वयन गर्दै विश्वका प्रतिष्ठित विश्वविद्यालयलाई नेपालमा ल्याउनुपर्ने उनको भनाइ छ। विदेशमा अध्ययनका लागि वार्षिक रूपमा बाहिरिने ठूलो रकम स्वदेशमै रोक्ने नीति आवश्यक रहेको उनले बताए।
