भोटेकोसी बाढी प्रभावितको पुनःस्थापना र सडक सञ्चालनमा तीव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिएका हुन् ।

साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका हुन् ।

उनले आफूले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे ।

मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए । त्यस अवसरमा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिएका थिए ।

यसैगरी मन्त्रीहरूले वैकल्पिक सडक निर्माण कार्यलाई सरकारले तिब्रता दिएको र लामो लामो बेलीबब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा ती सामाग्रीहरू आउनेक्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *