काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार तथा खोज ढिला भइरहेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले उद्धार, उपचार र राहतका धेरै काम गरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले यसअघिका सरकारले कहिल्यै नगरेको काम अहिलेको सरकारले गरिरहेको बताएका हुन् । उनले यो विपत्तिमा पसरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्न नहुने बताए ।
उनले हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको बताए । उनले राज्य यतिबेला सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताए ।
उनले भने, ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावषेश र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनी पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।’
