काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन नसक्ने बताएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले राज्यमा दण्डहीनताले प्रश्रय पाउनु नहुने बताएका हुन् ।
उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए । त्यस्तै, उनले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए ।
उनले भने, ‘यो विषयसँग सम्बन्धित केही प्रश्नहरू छन्, जुन प्रश्नहरू अनुत्तरित छन्। ती प्रश्नहरूको उत्तर खोजिनुपर्छ। नभए सिंगो समाजले यसको मूल्य चुकाउनुपर्छ भन्ने म ठान्छु । भाद्र २४ भन्दा पहिला भाद्र २३ आउँछ। भाद्र २३ का बारेमा हिजो मैले केही कुरा राखिसकेको छु । भाद्र २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो। अदम्य साहस प्रकट गरेको दिन थियो। जेनजी युवाहरूको विद्रोहको दिन थियो । त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो। ती उक्साउनेहरू को थिए ? तिनको पहिचान हुनुपर्छ। त्यो दमन गर्नेहरूले सजाय पाउनैपर्छ।’
उनले नेपालले अहिलेसम्म कहिल्यै नदेखेको ध्वंस त्यो दिन देखेको भन्दै त्यसको पछाडि को थियो भन्ने जान्न पाउनुपर्ने बताए ।
उनको प्रश्न थियो, ‘को थिए सिंहदरबार जलाउने ? को थिए अदालत जलाउने ? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने ? को थियो योजना बनाउने ? किन आज कोही चुइँक्क बोल्दैन ? अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने कसरी भयो ? यसको खोजी हामीले गर्नु पर्दैन ?’
