राष्ट्रवादी बन्न सजिलो, राष्ट्रवादी भएर टिकिरहन गाह्रोः नेता पाठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य जनकराज पाठकले राष्ट्रवाद नारा र लोकप्रियताका लागि गरिने प्रदर्शन नभई विचार, निष्ठा, त्याग र स्वाभिमानसँग जोडिएको विषय भएको बताएका छन्।

राप्रपाका संस्थापक नेता स्वर्गीय राजेश्वर देवकोटाको भनाइ उदृत गर्दै पाठकले राष्ट्रवादी बन्न सजिलो भए पनि राष्ट्रवादी भएर टिकिरहन कठिन हुने बताएका हुन्।

उनले पद र व्यक्तिगत स्वार्थ अनुकूल हुँदा राष्ट्रवादी बन्नेहरू धेरै भए पनि अवसर गुम्दा समेत आफ्नो विचारमा अडिग रहनेहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्।

पाठकले कुनै व्यक्तिसँग असहमति हुँदैमा विचार नै त्याग्नु वा कुनै निर्णयप्रति असन्तुष्टि जनाउँदै वैचारिक यात्रा परिवर्तन गर्नु विचारको संघर्ष नभई ‘सुविधाको राजनीति’ भएको टिप्पणी गरेका छन्।

नेतृत्वको मार्ग कमजोर वा गलत हुन सक्ने तथा कुनै निर्णयमा त्रुटि वा स्वार्थ लुकेको हुन सक्ने भन्दै उनले त्यसबारे पर्याप्त छलफल गरी निर्णय लिने समय आउने उल्लेख गरेका छन्। तर नेतृत्व वा निर्णयप्रतिको असन्तुष्टिका कारण आफूले बोकेको विचारलाई नै त्याग्नु आफ्नै राजनीतिक यात्रामाथि प्रश्न उठाउनु भएको उनको भनाइ छ।

उनले संकट, कठिन परिस्थिति र त्यागको समयमा समेत राष्ट्रवाद जोगाएर अघि बढ्नेहरू निकै कम हुने बताएका छन्।

“राष्ट्रवादी बन्न सजिलो छ, तर राष्ट्रवादी भएर टिकिरहन गाह्रो छ,” पाठकले भनेका छन्। उनका अनुसार इतिहासले भाषणभन्दा अडान, नाराभन्दा निष्ठा र भीडभन्दा कठिन समयमा नछोडिएको विचारलाई सम्झिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *