उद्धारमा ढिलाइबारे प्रश्न उठाउनु अपराध हो र ?

-नारायण गाउँले

यस्तो भयानक त्रासदी र विपत्तिमा समेत हामीलाई आफ्नो ईगोको मात्रै चिन्ता हुनु र सामान्य मानवीयतासमेत नहुनु दुर्भाग्यपूर्ण छ । सिङ्गो विश्व अझै स्तब्ध छ । नेपाल अझै हेडलाइनमै छ । यत्रो दिनदेखि माटो र हिलोमुनिबाट जादूझैँ लाग्ने गरी उद्धार गरिएका जीवनहरूको सिङ्गो विश्वले ’सेलिब्रेट’ गरेको छ । सँगै उद्धारका लागि पहिलो दिनदेखि नै आर्तनाद गरिरहेका आफन्तको आँसुसँगै सिङ्गो विश्व दुःखेको पनि छ ।

तर हामी न कसैको जीवनमा उत्सव मनाउँदै छौँ न पीडि़तहरूको घाउमा दुख्दै छौँ । हाम्रो मगजमा ईगो छ, राजनीति छ, घृणा छ, ईष्र्या छ, विद्वेष छ र कसौलाई गिराउने या उठाउने स्पर्धा छ । दश–एघार दिनपछि केही जीवनको सकुशल उद्धार भयो । सबै खुसी भयौँ । यी उद्धार कार्य कति जटिल, खतरापूर्ण र कठीन छन् भन्ने फेसबुकमा बसेर मात्रै थाहा हुँदैन । आफ्नो ज्यान नै खतरामा राखेर उद्धारमा खटिनेहरू पनि छन् । तिनलाई सबैले खुलेर धन्यवाद भनेका छन् । आशीर्वाद दिएका छन् ।

तर सँगसँगै पीडादायी पक्ष भनेको के हो भने यो उद्धार विपत्तिको भोलिपल्ट, पर्सिपल्ट नभई दश दिनपछि भएको हो । कम्तिमा हरेक टनेलमा एकैसाथ उद्धार कार्य गर्न सकिएको भए अझ बढी जीवन बचाउन सकिन्थ्यो कि, हरेक घरका भग्नावेशसम्म समयमैं पुग्न सकेको भए थप खुसीका खबर आउने थिए कि भन्ने पनि धेरैलाई लागेको हो । यस्तो लाग्नु कुनै अपराध होइन ।

टनेलमा आफ्नो बुबा र श्रीमान पुरिएको भन्दै उद्धार गरिदिन कैयौँ छोरी र श्रीमतीहरूले हप्ता दिनसम्म आँसुको खोलो बगाएका भिडियो छन् । मिडियादेखि जनप्रतिनिधिसम्मले सुरुकै दिनदेखि हारगुहार र दबाब सिर्जना गरेका पनि छन् । टनेलसम्म पुग्न ढिलाइ भएको भन्दै सरकारलाई आलोचना गर्ने र घचघच्याउनेहरू पनि छन् । त्यहाँ जीवन गडेको छ र उद्धार सम्भव छ भन्दै सबै साधनस्रोत र ध्यान त्यता पुर्याउन  धेरैको योगदान छ । दुःखका साथ भन्नुपर्छ, अझै पुग्न नसकिएका टनेल पनि छन् ।

यत्रो दिनसम्म आफ्ना प्रियहरूको उद्धार पर्खेर बस्दा कसको मन छियाछिया नहोला ? आफ्नो बुबा टनेलमुनि फसेको छ भन्ने शङ्का र जीवनको धमिलो आशा बोकेकी छोरीलाई आजसम्म हामी त्यहाँ पुग्न नसक्दा कस्तो पीडा होला ? कति आक्रोश होला ? तिनले पीडा र आक्रोश कसलाई सुनाउने ? सरकारलाई नै होइन र ? यत्रो विपत्ति र मानवीय क्षतिमा प्रसंशामात्रै हुन्छ र ? पीडित हुनेको आक्रोश हुँदैन ? सरकार भनेको व्यक्ति हो र ?

हेर्नुस् त हाम्रो विवेक ! ती पीडामा, ती घाउमा कति तुच्छ, कति अश्लील र कति नीच कमेन्ट गरेका छौँ हामीले ! कति निकृष्ट र विवेकहीन बन्न सकिएको होला । अनि थप केही पनि छौँ, जसले बालेनका कविताको बाढीलाई यस्तो मानवीय सङ्कटसँग जोडेर ईगोको तुष्टीकरण गरिरहेका छौँ ।

यो बाढी होइन, महाविपत्ति हो । जादू होइन, सरकार हो । सीमा छन् । केही स्रोतसाधन र दक्षताका सीमा छन् केही भौगोलिक सीमा छन् । विश्वका शक्तिशाली र सम्पन्न देशसँग पनि सीमा हुन्छन् । हामीले गर्दै नगरेको होइन ! यस्तो बेला सकेको सबैले गर्छन् र गरिरहेका पनि छन् । तर यसभन्दा बढी गर्न सकिन्थ्यो कि, यसभन्दा छिटो गर्न सकिन्थ्यो कि, यसभन्दा राम्रोसँग गर्न सकिन्थ्यो कि भन्ने प्रश्न जहिले पनि उठ्छ । अहिले पनि उठेको छ !

थोरै होला तर जति स्रोतसाधन छ त्यो सरकारसँगै छ । जति हेलिकप्टर छन्, सरकारकै नियन्त्रणमा छन् । जति सूचना र पहुँचका बाटा छन्, ती सरकारसँगै छन् । सेना र प्राविधिक सरकारसँगै छ । विश्वभरबाट सरकारकै खातामा सहयोग जुटेको छ । राहत सामग्री सेनाकै ब्यारेकमा छन् । ड्रोन उडाउनेदेखि टनेलसम्म पुग्ने अनुमति पनि सरकारले नै रोक्ने या दिने हो । यस्तोमा प्रसंशा या आक्रोश पनि सरकारमाथि नै जाने हो । एउटा सैनिकले जीवन नै दाउमा राखेर उद्धार गरे पनि धन्यवाद सरकारले नै पाउने हो । रसुवागढीमा गडेको आफन्तको उद्धार अझै हुन नसक्दा गाली पाउने पनि सरकारले नै हो । सफलतामात्रै छैन, असफलता पनि छन् । ती सबै सरकारको हो ।

सरकारमै हुनुहुन्छ भने त टिप्पणी या आलोचनाको जबाफ दिनु तपाईंको कर्तव्य हो । राम्रो काम हो । तर आमा बिरामी हुँदा अस्पतालमा बेड पाउन ’चिनेको ठूलो मान्छे’लाई भनसुन गर्न पर्ने ठाउँको मान्छेले पनि पीडितले सरकारमाथि पोख्ने आक्रोशको जवाफ दिनुपर्छ भन्ने हुँदैन ।

बरु, जति गर्न सकिएको छ त्यसमा धन्यवाद र खुसी व्यक्त गर्दै गर्न नसकिएका र मलम लगाउन नसकिएका घाउ र पीडितहरूसँग विनम्र भएर राज्यको तर्फबाट माफी माग्ने सल्लाह दिनुहोस् । व्यक्तिगत कमजोरीको कुरो होइन, ईगोको विषय होइन । यो राज्यको कमजोरी हो । हाम्रो गरिबीको कमजोरी होला, अनुभव र दक्षताको कमजोरी होला, साधनस्रोतको कमजोरी होला, कति मानवीय र शासकीय कमजोरी पनि होला । यी सबैको संस्थागत जिम्मेबारी सरकारकै हो । यो दुःखको समय हो । दुःखीसँग सहानुभूति राख्न सकिन्न भने पनि तिनलाई गिज्याउने, गाली गर्ने, मजाक बनाउने अनि संस्कार र विवेकहीनता प्रदर्शन गर्ने समय होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *