काठमाडौं । चीनले नेपालका बाढी तथा विपद् प्रभावित क्षेत्रका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार साँझ काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो क्षमताको सैनिक परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
राहत सामग्रीसँगै चीनबाट नेपाल पठाइएका पाँच जना डीएनए पहिचान विज्ञ पनि सोही विमानमार्फत काठमाडौं आइपुगेका छन् । उनीहरू नेपालका लागि चीनको तेस्रो चरणको सहायता टोलीका विज्ञ हुन् ।
राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सहभागी भएका थिए । उनीहरूले नेपाल आइपुगेका चिनियाँ विज्ञहरूको स्वागतसमेत गरेका थिए ।
चिनियाँ दूतावासका अनुसार नेपालका वास्तविक आवश्यकता र विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्रीलाई ध्यानमा राखेर दोस्रो चरणको सहायता पठाइएको हो । यसमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक (रिएजेन्ट), खानेपानी शुद्धीकरण उपकरण र प्रकाश उपकरण लगायतका सामग्री रहेका छन् ।
चिनियाँ डीएनए पहिचान विज्ञहरूले नेपाल आइपुगेपछि प्रभावित क्षेत्रमा पुगेर नेपाली पक्षलाई आवश्यक सहयोग गर्नेछन् । विशेषगरी बाढी तथा विपद्का कारण ज्यान गुमाएका र पहिचान हुन बाँकी व्यक्तिहरूको डीएनए परीक्षण तथा पहिचान प्रक्रियामा उनीहरूले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यसअघि मंगलबार नै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कुओ च्याखुनले नियमित पत्रकार सम्मेलनमा नेपालका लागि दोस्रो चरणको राहत सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका थिए । उनले नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनु र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्नु चीनको महत्वपूर्ण राजनीतिक निर्णय भएको बताएका थिए ।
प्रवक्ता कुओले चीनले नेपालसँग कठिन परिस्थितिमा दृढतापूर्वक उभिएर सहकार्य गर्ने बताउँदै वास्तविक सहयोगमार्फत दुई देशबीचको परम्परागत छिमेकी मित्रतालाई अभिव्यक्त गर्ने उल्लेख गरेका थिए ।
चीनको पछिल्लो सहयोगमा राहत तथा उद्धारका लागि आवश्यक प्रविधि र उपकरणसँगै विशेषज्ञ जनशक्ति पनि नेपाल आइपुगेका छन् । यसले विपद् व्यवस्थापन, बेपत्ता तथा मृतकको पहिचान र प्रभावित क्षेत्रमा आधारभूत सेवाको पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनले यसअघि पनि नेपालमा प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत सामग्रीसहित विशेषज्ञ टोली पठाउँदै आएको छ । पछिल्लो सहायता नेपाल–चीनबीचको मानवीय तथा विपद् व्यवस्थापन सहकार्यको निरन्तरताका रूपमा आएको हो ।





