काठमाडौं । नेपालमा पछिल्लो समय चीनले जल तथा मौसमसम्बन्धी तथ्यांक उपलब्ध गराउन पारदर्शिता नदेखाएको भन्दै सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा आएका आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।
दूतावासले मंगलबार जारी गरेको वक्तव्यमा यस्ता आरोप तथ्यसँग मेल नखाने दाबी गर्दै चीनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जल तथा मौसमसम्बन्धी सूचना प्रवाहलाई निरन्तरता दिएको जनाएको छ ।
चीन–नेपालको केरूङ् रसुवा क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि प्रभावित जलाधार क्षेत्रमा रहेका अनुगमन केन्द्रहरू क्षतिग्रस्त हुनु, यातायात अवरुद्ध हुनु र सञ्चार संकेत अस्थिर हुनुलगायत कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ ।
यस्ता कठिनाइका बाबजुद चीनले तथ्यांक प्रसारणका माध्यमहरू पुनःस्थापित गर्न निरन्तर प्रयास गरेको दूतावासको भनाइ छ ।
दूतावासका अनुसार चीनले प्रभावित जलाधार क्षेत्रका मुख्य जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ । साथै, अन्य नेपाली सम्बन्धित निकायहरूसँग पनि आवश्यक जलविज्ञानसम्बन्धी सूचना समयमै आदानप्रदान गर्दै आएको दूतावासले जनाएको छ ।
चिनियाँ दूतावासले जल तथा मौसमसम्बन्धी तथ्यांकमा चीनले पारदर्शिता नदेखाएको भन्ने आरोप “तथ्यसँग अत्यन्तै असंगत” रहेको जनाएको छ । यस्ता आरोपले नेपाल–चीनबीच भइरहेको विपद् उद्धार तथा राहत सहकार्यलाई प्रभावित पार्ने उद्देश्य राखेको समेत दूतावासको आरोप छ ।
वक्तव्यमा चीनले सदैव मानवीयताको भावना आत्मसात् गर्दै आएको र नेपालको विपद् व्यवस्थापन तथा निर्णय प्रक्रियालाई पूर्ण समर्थन गरेको उल्लेख गरिएको छ ।
दूतावासले चीनले नेपाल र चीन दुवै देशका नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्दै आएको दाबी गरेको छ ।
“चीनले नेपाललाई कठिनाइ पार गर्न र आफ्ना घर तथा पूर्वाधार पुनर्निर्माण गर्न निरन्तर सहयोग गरिरहनेछ,” वक्तव्यमा भनिएको छ ।
चीन–नेपाल सीमा क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि नेपालतर्फ बाढी तथा पहिरोको जोखिम बढेको थियो । त्यसयता दुवै देशका निकायबीच जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान र विपद् व्यवस्थापन सहकार्यबारे सार्वजनिक चासो बढ्दै आएको छ ।
