सरकार र रास्वपा नेतृत्वमा देखिएको ‘पाखण्ड, दम्भ र अपरिपक्वता’ का कारण ठूलो मानवीय क्षतिः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले रसुवाको भोटेकोसी  क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत तथा शव व्यवस्थापनमा सरकारको समन्वय कमजोर रहेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत झाँक्रीले उद्धार भएर होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि अब आफूहरू सक्रिय हुने बताएकी हुन्। यसअघि आफूहरूले सहयोगीको भूमिकामा मात्रै काम गरेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र समर्थकबाट हुने आलोचनाका कारण प्रत्यक्ष रूपमा अघि नबढेको बताइन्।

उनले कठिन उद्धार कार्य सुरक्षा निकायबाहेक अन्य पक्षबाट तत्काल सम्भव नभएको भए पनि प्रदेश र स्थानीय तहसँग समन्वय, होल्डिङ सेन्टर व्यवस्थापन तथा राहत वितरणमा प्रभावकारी भूमिका खेल्न सकिने बताइन्।

झाँक्रीले रास्वपाका नेता, कार्यकर्ता तथा सांसदहरू विपद्लाई अवसरका रूपमा प्रयोग गर्दै हेलिकप्टर चढेर घटनास्थल पुगेको र राज्यको स्रोतको दुरुपयोग गरेको आरोप लगाइन्।

उनले सरकार र रास्वपा नेतृत्वमा देखिएको ‘रिस, द्वेष, बदलाको भावना, पाखण्ड, दम्भ र अपरिपक्वता’ का कारण ठूलो मानवीय क्षति भएको दाबीसमेत गरिन्।

‘मृत मानिसहरू सरकार र रास्वपाका लागि संख्या वा लास मात्र हुन सक्छन्, तर परिवारका लागि उनीहरू सबैथोक हुन्। आफन्तका लागि छोराछोरी हुन् र राष्ट्रका लागि बलिया खम्बा हुन्,’ झाँक्रीले भनेकी छन्।

झाँक्रीले भारत, चीन, बंगलादेश र श्रीलंकालगायत मित्र राष्ट्रबाट दक्ष प्राविधिक तथा उद्धार टोलीलाई समयमै नेपाल आउन अनुमति दिएको भए हेडरेस सुरुङलगायत विभिन्न स्थानमा फसेकाहरूको जीवितै उद्धार गर्न सकिने दाबी गरिन्।
उनले विपद्को ७२ घण्टाभित्र प्रभावकारी उद्धार गर्न सकिने सम्भावना रहेको भन्दै सरकारले त्यसतर्फ पर्याप्त पहल नगरेको आरोप लगाइन्।

घटनास्थलमा परियोजना सञ्चालन गरिरहेका निजी क्षेत्रका कम्पनीलाई भदौ १० गते नै उद्धारका लागि अनुमति दिएको भए उनीहरूले आफ्नै विशेषज्ञ टोली र स्रोत–साधन परिचालन गरेर कामदार तथा अन्य नागरिकको उद्धार गर्न सक्ने झाँक्रीको भनाइ छ।

झाँक्रीले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायले उपलब्ध स्रोत–साधनको सीमितताबीच पनि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै प्रशंसा गरेकी छन्।

निजामती प्रशासन र स्थानीय तहले गरेको प्रयासलाई पनि कम आँक्न नहुने उनले बताएकी छन्। तर राजनीतिक नेतृत्व भने विपद् व्यवस्थापनमा पूर्ण रूपमा असफल भएको उनको आरोप छ। बागमती प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले सडक खुलाउने तथा प्रभावितलाई राहत उपलब्ध गराउन गरेको प्रयासमा समेत उपेक्षा र आलोचना गरिएको उनले दाबी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *