-गीताञ्जली भट्टराई ।
म HDCS International Aid को Hospital हामी मेडिकल तथा काउन्सलर टिम बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर सहायोगको लागि त्रिशूली आएको छौं । त्रिशूली हस्पिटलको संयोजनमा मेडिकल सेवा र PFA ( psychological First Aid ) सहयोग गरिरहेका छौं । यहाँको अवस्था अत्यन्तै नाजुक र भयावह छ । अहिले हामी त्रिशूली अस्पतालको समन्वयमा यहाँका ४ वटा सेल्टरमा बसेर राहत तथा मनोसामाजिक सहयोग गरिरहेका छौँ । हाम्रो टिम सुरक्षित छौँ । अवस्था निकै डर लाग्दो भए पनि, जुनसुकै बेला भाग्नुपर्ने अवस्था आउन सक्ने जोखिमका बीच पनि हामी सुरक्षित रूपमा काम गरिरहेका छौँ।
तर यहाँको वास्तविक अवस्था बाहिर देखिएभन्दा निकै फरक र गम्भीर छ। बिजुली छैन, खानेपानीको व्यवस्था छैन, फोन नेटवर्क छैन, इन्टरनेट छैन। ठाउँ–ठाउँमा बेवारिसे शवहरू छन् र शव कुहिएर आएको दुर्गन्धले वातावरण निकै प्रदूषित भएको छ। कुकुर तथा अन्य जनावरहरूले शव खाइरहेको हृदयविदारक अवस्था समेत देख्नुपरेको छ। धेरैजसो राहत सामग्री बिदुरसम्म मात्र पुगेको देखिन्छ । त्यहाँ राहत सामग्री देखाएर फोटो खिच्ने भीड त धेरै छ, तर वास्तविक रूपमा टाढाका प्रभावित बस्तीहरूमा राहत र आवश्यक सहयोग पुगिरहेको छ कि छैन भन्ने ठूलो प्रश्न छ।
राहत भनेको दाल–चामल मात्र हो र ?
दाल–चामल केही समयका लागि आवश्यक हुन्छ, तर मानिससँग बस्ने सुरक्षित ठाउँ छैन भने ती सामग्री कहाँ राख्ने ? भिजेर, कुहिएर र म्याद सकिएर जाने सामग्री थुपारेर मात्र समस्या समाधान हुँदैन । यहाँ मानिसहरू अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन्। एउटै कोठामा पुरुष, महिला, बालबालिका सबैलाई भेडाबाख्रा जस्तै कोचेर राखिएको अवस्था छ। सरसफाइ र व्यक्तिगत स्वच्छताको अवस्था अत्यन्तै कमजोर छ। कतिपय मानिसहरू एक हप्तादेखि एउटै कपडामा छन्, नुहाउनसमेत पाएका छैनन् ।
दूषित पानी, फोहोर, सरसफाइको अभाव र कुहिएका शवबाट आएको दुर्गन्धका कारण अर्को महामारी फैलिने जोखिमसमेत बढिरहेको छ । सेल्टरमा रहेकाहरुमा मबजष्चभब,खयmष्तष्लन, पेट दुःख्ने समस्या सुरु भएको छ। यस्तो अवस्थामा साबुन, पानी, कपडा, सेनेटरी सामग्री, औषधि, अस्थायी शौचालय, सुरक्षित बसोबास र स्वास्थ्य तथा मनोसामाजिक सहयोग पनि उत्तिकै आवश्यक छन्।
हामीले बिदुरलाई मात्र बाढी प्रभावित क्षेत्र भनेर हेर्नु हुँदैन । बिदुरभन्दा परका, पहुँच पुग्न कठिन भएका बस्तीहरूमा पनि मानिसहरू छन्, उनीहरू पनि प्रभावित छन् र उनीहरूलाई पनि तत्काल राहत चाहिएको छ। दाल–चामल थुपारेर मात्र राहत हुँदैन । राहत भनेको मानिसलाई बाँच्न आवश्यक पर्ने सम्पूर्ण आधारभूत आवश्यकता सुरक्षित रूपमा पुर्याउनु हो । आज यहाँबाट देखिएको वास्तविकता यही हो-फोटो खिचेर राहत पुगेको देखाउनु होइन, जहाँ आवश्यकता सबैभन्दा बढी छ, त्यहाँ पुगेर सहयोग गर्नु आवश्यक छ।
(भट्टराई स्वास्थ्यकर्मी हुन् ।)
