काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् ।
भोटेकोसी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आइतबार आयोजित छलफलमा सभापति थापाले प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु कांग्रेसको जिम्मेवारी रहेको बताएका हुन् ।
उनले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए । उनले भने,‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ । हामीले पूर्ण रूपमा साथ दिने हाम्रो कर्तव्य हो । हामी गर्छौं, गरिरहेका छौँ र थप गर्छौं । सरकार कहाँनिर चुकेको छ, चुकेको ठाउँ बताउने पनि हाम्रो कर्तव्य हो। कमीकमजोरी कहाँनिर भएको छ, देखाउने र कहाँनिर सुधार गर्नुपर्ने हो, त्यो बताउने पनि हाम्रो कर्तव्य हो ।’
सरकारका कमजोरीबारे खबरदारी नगरे एकोहोरो ढंगले काम हुने र विपद्मा परेका नागरिकका वास्तविक समस्या सरकारसम्म नपुग्ने उनले बताए । ‘ती कुराहरू बताइएन भने फेरि एकमन ढंगले जान्छ । भुइँमान्छेका कुराहरू सरकारसँग पुग्दैनन्,’ थापाले भने ।
थापाले कांग्रेसले यसअघि सरकारसमक्ष बुझाएको नौबुँदे ध्यानाकर्षण पत्रलाई पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा समेत जोड दिए ।
विपद् व्यवस्थापनमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने सभापति थापाको भनाइ छ । उनले भने, ‘विपद्को यो घडीमा संघको सरकार जत्तिकै महत्वपूर्ण भूमिका प्रदेश सरकार र स्थानीय सरकारले पनि निर्वाह गर्नुपर्छ । उनीहरूले गरिरहेका पनि छन् । तर समन्वय हुँदै गर्दा काम गर्यो भने प्रभावकारी परिणाम आउँछ ।’
