मुख्यसचिवसहित सचिवहरुसँग प्रधानमन्त्रीको छलफल, उद्धार र राहत तीव्र बनाउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।

बिहीबार बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।

बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

बैठकमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन कडा निर्देशन दिएका छन् ।

विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनले क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *