बाढी प्रभावित नुवाकोटमा प्रधानमन्त्री बालेनको स्थलगत निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएका छन् ।

बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउनासाथ प्रधानमन्त्री उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका थिए । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका प्रधानमन्त्रीले समयको सीमाकाबीच आज मुख्य रूपमा विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री र मन्त्रीसहितको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो ।

त्यसक्रममा प्रधानमन्त्रीले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्र्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *