काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।
उनले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताए ।
नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
सभापति लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे । चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उनले अपील गरे ।
उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गरे । साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गरे ।
‘कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकैपटक उद्धार र राहतमा उत्रिनुपर्छ,’ उनले भने ।
उनले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए । रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
सभापति लामिछानेले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि राहत तथा पुनस्र्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । विगतका विपद्मा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि देशबाहिर रहेका नेपालीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले विपद्पछि हुने पुनस्र्थापनाको काम चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित नागरिकलाई पुनस्र्थापित गर्न सकिने बताए ।
उनले अहिले नै सरकारको कार्यसम्पादनको समीक्षा गर्न हतार नगर्न प्रतिपक्षी दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरे । अहिलेको प्राथमिकता नागरिकको ज्यान बचाउनु भएको भन्दै उद्धार, राहत र पुनस्र्थापनापछि मात्रै सरकारको कामको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
उनले सरकारलाई नागरिकको खोजी तथा उद्धार, राहत र पुनस्र्थापनामा सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गर्दै विपद्को समयमा सबै राजनीतिक दल एकजुट भएर राष्ट्रिय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।
