हेटौँडा । बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच समझदारी भएको छ ।
संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेशसभा दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा मुख्यमन्त्री किरण थापा मगरले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा प्रदेश सरकारमा बढीमा आठ मन्त्रालय कायम गरिनेछ । प्रदेशसभामा रिक्त रहेको सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने सहमति भएको छ ।
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी सात दिनभित्र सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ । त्यसका लागि नेपाली कम्युनिष्ट पार्टीबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य सदस्य रहेको सात सदस्यीय समिति गठन गरिएको छ ।
समझदारीपत्रमा सुरुमा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने उल्लेख छ । उक्त संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव तथा समन्वय गर्नेछ ।
त्यस्तै, मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति भएको छ । मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेपाली कम्युनिष्ट पार्टी र त्यसपछि राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गर्ने समझदारी भएको छ ।

