हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

पोर्ट–ओ–प्रिन्स (हाइटी) । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ । सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको कार्यालयले मृतक तथा घाइतेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै केन्स्कोफलाई सरकारले त्याग्न नदिने जनाएको छ । सरकारी अधिकार पुनःस्थापित गर्न सुरक्षा निकायले बिना ढिलाइ काम गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को सुरुआतमा दुई महिनाको अवधिमै केन्स्कोफमा भएका गिरोहका आक्रमणमा २६० भन्दा बढी मानिस मारिएका थिए । ती आक्रमणमा करिब २०० घर ध्वस्त वा जलेका थिए भने करिब तीन हजार मानिस विस्थापित भएका थिए । त्यसयता पनि अपहरण, आगजनी र गाईवस्तु चोरीलगायतका १० भन्दा बढी आक्रमण भएका छन् ।

हाइटीको राजधानीमा शक्तिशाली गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन् । हतियार तथा स्रोतसाधनको अभावमा रहेको प्रहरीलाई विदेशी मुलुकले सहयोग गरिरहेका भए पनि गिरोहले राजधानी आसपासका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेका छन् ।

राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसा तीव्र बनेको छ । हत्या, अपहरण, बलात्कार तथा बालबालिकाको जबर्जस्ती भर्तीका घटनाले नागरिक सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जुनमा सार्वजनिक गरेको अनुमानअनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण झन्डै १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।

गिरोह नियन्त्रण तथा स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालनको तयारी भइरहेका बेला केन्स्कोफमा भएको पछिल्लो आक्रमणले हाइटीको बिग्रँदो सुरक्षा अवस्थाप्रति थप चिन्ता बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *