बुटवल । जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश संसदीय दलले अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन केन्द्रमा सिफारिस गरेको छ ।
पार्टीको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सोमबार पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन् ।
जसपा नेपालले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणसहित निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।
सोहीअनुसार जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्ने र भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको थियो ।
तर, प्रदेशसभा सदस्य काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलको आरोप छ । दलको निर्देशन उल्लंघन गरेको विषयमा भदौ २ गते काफ्लेसँग स्पष्टीकरण माग गरिएको थियो । उनले जवाफ नदिएको पत्रमा उल्लेख छ ।
त्यसपछि भदौ ५ गते २४ घण्टे स्पष्टीकरणको मौका दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ वा स्पष्टीकरण नदिएको जसपा नेपाल संसदीय दलले जनाएको छ ।
दलको निर्देशन उल्लंघन गरी सिंगो संसदीय दलको अवहेलना गरेको ठहर गर्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) बमोजिम दलबाट निष्कासन गर्ने र प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ ।
काफ्ले लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हुन् । लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँचजना सदस्य रहेका छन् ।
