दीपक खड्कालाई कुसुम थापाको आग्रहः ‘न्यायाधीश भेटेको भन्दै नहिँड्नुस्’

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले कांग्रेस नेता दीपक खड्कालाई राजनीतिक र कानुनी विषयलाई फरक ढंगले अघि बढाउन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत थापाले खड्कालाई राजनीतिक लडाइँ राजनीतिक तरिकाले र कानुनी लडाइँ कानुनी प्रक्रियाबाटै लड्नुपर्ने बताएकी हुन्।

उनले पछिल्लो समय खड्काले आफू जेलमा रहेका बेला केही व्यक्तिले पार्टीको आधिकारिकता पाएको र अहिले त्यस्तो अवस्था दोहोरिन नदिने गरी अदालतमा ‘सेटिङ’ मिलाइसकेको दाबी गर्ने गरेको उल्लेख गरेकी छन्। खड्काले आफूले न्यायाधीशलाई राति भेटेको, उनीहरूका मानिससँग भेटिसकेको तथा ‘स्टे’ र आधिकारिकता आउने दाबी गरेको कुरा सुनिएको थापाको भनाइ छ।

थापाले यस्ता अभिव्यक्ति नदिन खड्कालाई आग्रह गर्दै अदालतका कर्मचारीदेखि न्यायाधीशसम्मलाई प्रभावमा पार्न सक्ने दाबी नगर्न चेतावनी दिएकी छन्। ‘तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ,’ थापाले भनेकी छन्, ‘न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईं–हामी सबैको हो।’

खड्कासँग पर्याप्त आर्थिक हैसियत रहेको कुरा आफूहरूले गत वर्षको जेनजी आन्दोलनका क्रममा सार्वजनिक भएको भिडियोबाट समेत देखेको उल्लेख गर्दै थापाले पैसा भएकै आधारमा न्यायालयलाई प्रभावित पार्न सक्ने अभिव्यक्ति दिनु उचित नभएको बताएकी छन्।
उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियामा अनावश्यक रूपमा लैजाने प्रवृत्तिको सामना गर्न आफूहरू तयार रहेको समेत स्पष्ट पारेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *