बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक र अटो पाट्र्समा भन्सार शुल्क दोब्बर बनाउने धम्की दिएपछि अमेरिका–क्यानडा व्यापार तनाव थप चर्किएको छ।
ट्रम्पले आगामी जनवरी १ देखि क्यानडाबाट आयात हुने अटोमोबाइल र अटो पाट्र्समा लाग्दै आएको २५ प्रतिशत शुल्क बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
अमेरिका र क्यानडाबीचको व्यापार वार्ता गत शुक्रबार अन्तिम समयमा भंग भएको थियो। वार्ता भंग हुनुमा दुवै पक्षले एक–अर्कालाई अन्तिम समयमा ‘अनुचित माग’ अघि सारेको आरोप लगाएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो शुल्क वृद्धिको धम्कीलाई ‘अप्रत्याशित नभएको’ प्रतिक्रिया दिएका छन्। उनले ट्रम्पले क्यानडाको अटो उद्योग ध्वस्त पार्न खोजेको आरोप लगाउँदै अमेरिका ‘सही दृष्टिकोण’ लिएर आए वार्ता पुनः सुरु गर्न क्यानडा तयार रहेको बताए।
क्यानडाले शुक्रबार राति अमेरिकी समयसीमा सकिन केही समयअघि व्यापार वार्ताबाट बाहिरिने निर्णय गरेको थियो। अमेरिकाले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडेली आयातमा थप ५० प्रतिशत शुल्क लगाउने तयारी गरिरहेका बेला वार्ता भंग भएको हो।
क्यानडेली अधिकारीहरूले अमेरिकाले वार्ताको अन्तिम चरणमा ‘अस्वीकार्य’ माग अघि सारेको बताएका छन्। क्यानडाले कुन–कुन देशसँग व्यापार सम्झौता गर्न पाउने भन्ने विषयमा सीमितता लगाउने प्रस्ताव पनि अमेरिकाले गरेको उनीहरूको दाबी छ।
तर, अमेरिकी अधिकारीहरूले भने अन्तिम समयमा परिवर्तनको प्रस्ताव क्यानडाले नै ल्याएको आरोप लगाएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सीएनबीसीसँग कुरा गर्दै क्यानडाले ‘अझ धेरै’ माग गरेको बताए।
वार्ता भंग भएसँगै दुई देशबीचको तनाव सार्वजनिक रूपमा समेत बढेको छ। प्रधानमन्त्री कार्नीले अमेरिकाले लगाउने शुल्कको जवाफ क्यानडाले पनि अमेरिकी सामानमा ‘डलर बराबर डलर’ का दरले पारस्परिक शुल्क लगाएर दिने चेतावनी दिएका छन्।
