ज्ञानेन्द्र शाही भन्छन्-बागमतीमा तीन सांसद पदमुक्त भएको गलत प्रचार गरियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भन्दै गलत प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

शाहीले पार्टीले सम्बन्धित सांसदलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारेका छन्।

उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसद पदमुक्त भएको भन्दै समाचार बनाउनु र प्रचार गर्नु उचित नभएको बताएका छन्।
शाहीले पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कसरी बलियो बन्न सक्छ भन्दै प्रश्नसमेत गरेका छन्।

‘पार्टीले कारबाही गर्न सक्छ, तर कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन,’ उनले भनेका छन्।
उनले सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको समेत स्मरण गराएका छन्।

शाहीले पार्टीका नेता तथा कार्यकर्तालाई भावनामा नभई तथ्यका आधारमा बोल्न र गलत सूचनाको सट्टा सत्य कुरा प्रचार गर्न अपील गरेका छन् ।

यता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भने पार्टीको निर्देशन अवज्ञा गर्ने बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो । बागमती प्रदेशमा सरकारमा सहभागी भएपछि राप्रपामा विवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *