काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना रोक्न कदम चाल्नुपर्ने बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा अर्यालले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ भन्ने पत्ता लगाउन माग गरिन् ।
उनले भनिन्, ‘बारामा बालिकाको क्रुर हत्या भएको छ म निन्दा गर्दछु। अनुसन्धानको लागि सुरक्षा निकाय लागेको छ। केही मानिस अनुसन्धानमा तानिएका छन्। दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ । यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ।’
उनले सरकारलाई फटाफट काम गर्न के ले छेकेको भन्दै प्रश्न गरिन् । उनले भनिन्,’प्रचण्ड बहुमत छ । मन्त्रीमा युवाहरूको जमात छ । सदनमा प्रतिपक्षको विरोध छैन । तर, सरकारलाई फटाफट, सरासर काम गर्न के ले छेकेको छ ?’ उनले आफूहरुले सरकार सफल भएको हेर्न चाहेको बताइन् ।
