काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारिशमणि गेलालले मतदाताले दिएको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले इमानदार र बौद्धिक मतदाताले आगामी दिनमा आफूहरूमाथि थप विश्वास गर्ने दाबी गरे । उदयपुरको भौतिक, शैक्षिक तथा पर्यटकीय विकासका लागि कनेक्टिभिटीको उच्चस्तरीय विकास गरेरै छाड्ने उनको भनाइ छ ।
सांसद गेलालले विगतमा राज्यको दोहन तथा भ्रष्टाचारबाट लाभ लिएकाहरू चार महिना नबित्दै आफूहरूको विरोधमा उत्रिएको आरोप लगाए ।
‘चिया, बिस्कुट, मासु, भात र खाममा पैसा पाएकाहरू आज चार महिना नबित्दै विरोधमा उत्रन्छन्,’ उनले भनेका छन्, ‘अब ती दिन गए । बरु आफ्नो कर्ममा लाग्नुस्।’
गेलालले आफूहरू विकासवादी नेताको पहिचान बदल्न आएको दाबी गर्दै विगतको तुलनामा भविष्यमा विकासको हिसाब दिने बताएका छन् । ‘हामी विकासवादी नेताको पहिचान बदल्न आएका हौँ,’ उनले भनेका छन्, ‘हिजोको तुलनामा भविष्यमा विकासको हिसाब दिन्छौँ।’
उनले मतदाताको विश्वासलाई आफ्नो राजनीतिक जिम्मेवारीको आधार भएको उल्लेख गर्दै उदयपुरको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। गेलाल उदयपुर क्षेत्र नम्बर १ का सांसद हुन् ।
