झाँक्रीको प्रश्न : एक जना अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको विषयमा प्रश्न उठाउँदै नेतृत्व परिवर्तन मात्रैलाई पुनर्गठन भन्न नमिल्ने बताएकी छन् ।

झाँक्रीले सामाजिक सञ्जालमार्फत एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न नमिल्ने बताएकी हुन् ।

उनले पार्टी पुनर्गठनको अर्थ र त्यसको वास्तविक स्वरूपबारे गम्भीर बहस आवश्यक रहेको उल्लेख गरेकी छन् । झाँक्रीले आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै समेत प्रश्न गरेकी छन् ।

उनले प्रश्न गरेकी छन्, ‘पार्टी पुनर्गठन भनेको आखिर के हो ? एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *