काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका वा अनुमति तथा स्वीकृति खारेज गर्नुपर्ने अवस्थामा रहेका ९२ वटा संस्थागत (निजी) विद्यालयलाई ३५ दिनभित्र आवश्यक विवरण र कागजात पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले शिक्षा ऐन, २०७५ बमोजिम अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका विद्यालयका लागि सूचना जारी गर्दै सम्बन्धित विद्यालयलाई तोकिएको समयभित्र आफ्नो अवस्था स्पष्ट हुने कागजातसहित विवरण पेस गर्न भनेको हो ।
शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ वा आवश्यक प्रमाण पेस नभए विद्यालयको अनुमति वा स्वीकृति खारेज गर्ने प्रक्रिया अघि बढाइनेछ ।
महानगरपालिकाले यसअघि नै दर्ता भए पनि व्यवहारमा सञ्चालनमा नरहेका निजी विद्यालयको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा कागजमा मात्र सीमित रहेका र वास्तविक रूपमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय नगर शिक्षा समितिले गरेको थियो ।
महानगरपालिकाले निजी विद्यालयको सञ्चालनसँगै कक्षा तथा विषय थप, विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनलगायतका विषयमा समेत प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ ।
