काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे सुरु हुने बैठकमा स्थानीय निर्वाचनको तयारीसहित सांगठनिक विषयमा छलफल हुने भएको छ ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा २०८३ अनुमोदन गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहनेछ । यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण र पार्टीको सांगठनिक व्यवस्थापनबारे पनि छलफल हुनेछ ।
बैठकले केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुखहरूको मनोनयनबारे समेत निर्णय गर्नेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनको विषय पनि बैठकको कार्यसूचीमा रहेको छ ।
त्यसैगरी, केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी रूपरेखाबारे अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ ।
रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकबाट आवश्यक निर्णय लिने महामन्त्री आचार्यले जानकारी दिएका छन् ।
