आफूमाथि लागेका आरोप पुष्टि गर्न गंगा दाहालको चुनौती

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारमाथि आर्थिक अनियमितता तथा सम्पत्तिसम्बन्धी अफवाह फैलाइएको भन्दै त्यसको खण्डन गरेकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी दाहालले केही समयअघि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको र नेपालका ठूला घरजग्गा तथा विभिन्न व्यवसायमा स्वामित्व रहेको भन्दै आरोप लगाइएको उल्लेख गरेकी छन्।

उनका अनुसार ती आरोप पुष्टि नभएपछि अहिले ४० अर्बको ठाउँमा ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको छ।
उनले अफवाह फैलाउनेहरूलाई आरोप पुष्टि गर्न सार्वजनिक चुनौतीसमेत दिएकी छन्। “सत्य अन्ततः सत्य नै हुन्छ,” उनले भनेकी छन्।

दाहालले आफू र आफ्नो परिवार संविधान तथा कानुनबमोजिम जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि सदैव तयार रहेको बताएकी छन्। आफूहरूले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै उनले गलत गरेको पुष्टि भए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको स्पष्ट पारेकी छन्।

“हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भविष्यमा पनि हुने छैन,” उनले वक्तव्यमा भनेकी छन्। राजनीतिक प्रतिशोध वा विरोधका नाममा बारम्बार अफवाह फैलाउनुको उद्देश्यबारे उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। व्यक्तिगत जीवनसमेत नभनी आफूले आफ्ना बुवालाई छोरीको नाताले सहयोग गर्नु अपराध नभएको उनको भनाइ छ।

दाहालले आफू र आफ्नो परिवारले जनतालाई धोका दिन नसक्ने उल्लेख गर्दै आफूहरूमाथि लागेका आधारहीन आरोप स्वीकार्य नहुने बताएकी छन्। उनले सर्वसाधारणलाई यस्ता अफवाहका आधारमा भ्रमित नहुन आग्रहसमेत गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *