काठमाडौं । चीनका प्रसिद्ध बौद्ध भिक्षु तथा विद्वान् स्युयान चाङले १,३०० वर्षभन्दा अघि ज्ञान र बौद्ध दर्शनको खोजीमा गरेको ऐतिहासिक यात्रालाई पुनःअनुसरण गर्ने अन्तर्राष्ट्रिय अभियानमा नेपाल पनि जोडिएको छ ।
चीनबाट सुरु हुने यस यात्राले प्राचीन सिल्क रोड हुँदै नेपाल भएर भारतको नालन्दा महाविहारसम्मको यात्रा तय गर्नेछ ।
‘२०२६ जर्नी टु द वेस्ट—रिट्रेसिङ स्युयान चाङ्स जर्नी’ नामक अभियानको औपचारिक शुभारम्भ अगस्ट १४ मा चीनको बेइजिङस्थित चाइना नेसनल कन्भेन्सन सेन्टरमा भएको हो ।
चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा सुरु भएको अभियानमा विभिन्न देशका कूटनीतिज्ञ, संस्कृति तथा पर्यटन क्षेत्रका प्रतिनिधि, बौद्ध अध्ययनका विद्वान्, अनुसन्धानकर्ता, पर्यटन विज्ञ र सञ्चारकर्मी सहभागी भएका थिए ।
स्युयान चाङको ऐतिहासिक यात्रा चीनबाट सुरु भएर मध्य एसियाका विभिन्न देश हुँदै नेपाल र त्यसपछि भारतको नालन्दासम्म पुग्ने भएकाले यस अभियानमा नेपालको विशेष सांस्कृतिक तथा बौद्ध महत्व रहनेछ।
स्युयान चाङको यात्रा मूलतः बौद्ध धर्म, दर्शन र ज्ञानको खोजीमा केन्द्रित थियो । भारतमा बौद्ध दर्शन तथा शिक्षा अध्ययन गरी उनले त्यससम्बन्धी ग्रन्थ र ज्ञान चीनमा पुर्याएका थिए । त्यसैले उनको यात्रालाई चीन, नेपाल, भारत तथा प्राचीन बौद्ध सभ्यताबीचको ऐतिहासिक ज्ञान–सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा हेर्ने गरिन्छ ।
नेपालमा अभियान प्रवेश गर्दा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर सिर्जना हुने देखिएको छ ।
नेपाल र चीनबीचको सम्बन्ध केवल आधुनिक कूटनीतिक तथा आर्थिक सहकार्यमा सीमित नभई प्राचीनकालदेखि नै बौद्ध धर्म र संस्कृतिको माध्यमबाट समेत जोडिएको इतिहास छ । स्युयान चाङको यात्राको पुनःअनुसरणले यही ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धलाई नयाँ पुस्तामाझ प्रस्तुत गर्ने अवसर दिने अपेक्षा गरिएको छ ।
अभियानका क्रममा सहभागी अनुसन्धानकर्ता, संस्कृति तथा पर्यटन विज्ञ, यात्रामार्ग सर्वेक्षणकर्ता र सञ्चारकर्मीले सम्बन्धित मुलुकका ऐतिहासिक स्थल, बौद्ध सम्पदा, स्थानीय संस्कृति र धार्मिक परम्पराको अभिलेखीकरण गर्नेछन् । यसबाट नेपालका बौद्ध सम्पदा र तीर्थस्थललाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटन सञ्जालसँग जोड्न सकिने सम्भावना देखिएको छ ।
नेपालमा लुम्बिनी, काठमाडौं उपत्यकाका बौद्ध सम्पदा, नमोबुद्ध, फर्पिङ तथा अन्य बौद्ध तीर्थस्थललाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनसँग जोड्ने प्रयास हुँदै आएका छन् । स्युयान चाङको यात्रालाई पुनःअनुसरण गर्ने यो अभियानले त्यस्ता सम्पदाको प्रचार–प्रसारमा थप योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।
विशेषगरी चीन, मध्य एसिया र दक्षिण एसियाबीचको ऐतिहासिक बौद्ध मार्गलाई पर्यटन मार्गका रूपमा विकास गर्न सके नेपालले बौद्ध तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा आफ्नो भूमिका अझ विस्तार गर्न सक्ने देखिन्छ ।
चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष गुओ लिचुनले स्युयान चाङले कठिन परिस्थितिका बाबजुद ज्ञान र शान्तिको खोजीमा गरेको यात्रा प्राचीन सिल्क रोडको शान्ति, खुलापन र समावेशिताको भावनाको प्रतीक भएको बताएका छन् ।
उनका अनुसार स्युयान चाङको पदचिह्न पछ्याउनु शान्ति र मित्रताको यात्रा हो । सांस्कृतिक तथा पर्यटन आदान–प्रदानमार्फत विभिन्न देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
चीनमा रहेका नेपाल, भारत, पाकिस्तान र किर्गिस्तानका दूतावासका प्रतिनिधिहरूले समेत अभियानप्रति समर्थन जनाएका छन् ।
नेपालका लागि भने यो अभियान बुद्धको जन्मभूमि, प्राचीन बौद्ध सभ्यता र हिमालय क्षेत्रको बौद्ध सांस्कृतिक सम्पदालाई चीन तथा विश्व समुदायसँग जोड्ने महत्वपूर्ण अवसर बन्न सक्ने देखिएको छ ।
यस अभियानमार्फत स्युयान चाङले पछ्याएको प्राचीन बौद्ध ज्ञानमार्गलाई आधुनिक सांस्कृतिक तथा पर्यटन मार्गका रूपमा पुनर्जीवित गर्न सके नेपाल–चीन–भारतबीचको बौद्ध पर्यटन तथा सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने अपेक्षा गरिएको छ ।
