नेपाल इन्जिनियर्स एसोसिएसन र चिनियाँ इन्जिनियर्स सोसाइटीबीच सहकार्यको नयाँ अध्याय

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले चीन भ्रमणका क्रममा चिनियाँ इन्जिनियर्स सोसाइटीका नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अनुसार एसोसिएसनको इतिहासमा चिनियाँ इन्जिनियर्स सोसाइटीसँग भएको यो भेटलाई पहिलो उच्चस्तरीय संस्थागत संलग्नताका रूपमा लिइएको छ ।

गत साता भएकाे भेटवार्ताले नेपाल र चीनका इन्जिनियरिङ क्षेत्रबीच दीर्घकालीन संस्थागत सहकार्य, प्राविधिक ज्ञान आदान–प्रदान तथा संयुक्त क्षमता विकासका लागि आधार तयार गरेको बताइएको छ।

भेटवार्ताका क्रममा दीर्घकालीन संस्थागत सहकार्य, ज्ञान तथा प्रविधि हस्तान्तरण र नेपालको राष्ट्रिय विकासमा इन्जिनियरिङ क्षेत्रको योगदान विस्तारलाई प्राथमिकताका रूपमा अघि बढाउने विषयमा छलफल भएको छ।

दुवै संस्थाबीचको सहकार्यलाई संस्थागत स्वरूप दिँदै दीर्घकालीन साझेदारीको ढाँचा निर्माण गर्ने, विभिन्न प्राविधिक क्षेत्रमा ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट इन्जिनियरिङ अभ्यासलाई नेपालमा उपयोग गर्ने विषयमा जोड दिइएको छ।

त्यस्तै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञताको उपयोग गर्दै नेपालको पूर्वाधारको दिगोपन तथा जोखिम न्यूनीकरण, इन्जिनियरिङ मापदण्डको विकास र दिगो विकासमा सहयोग पुर्‍याउने उद्देश्य पनि सहकार्यको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ ।

प्रस्तावित सहकार्यअन्तर्गत युवा इन्जिनियरहरूको क्षमता विकासलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ। परियोजनामा आधारित प्राविधिक आदान–प्रदान, तालिम तथा क्षमता अभिवृद्धि, अनुभवी इन्जिनियरबाट मार्गदर्शन (मेण्टरसिप) र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर सिर्जना गर्ने पहल अघि बढाइने बताइएको छ।

यसैगरी, इन्जिनियरिङ तथा आर्किटेक्चर क्षेत्रमा महिला सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि तत्कालीन कार्ययोजनामा समेटिएको छ। महिला इन्जिनियर तथा आर्किटेक्टहरूका लागि क्षमता विकास, नेतृत्व अवसर र संस्थागत सहयोगका कार्यक्रम अघि बढाउने लक्ष्य राखिएको छ।

नेपाल इन्जिनियर्स एसोसिएसनले अध्यक्ष बरालको चीन भ्रमण र चिनियाँ इन्जिनियर्स सोसाइटीसँगको भेटलाई नेपालको इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ।

एसोसिएसनका अनुसार नेपाल–चीन इन्जिनियरिङ समुदायबीचको यस्तो सहकार्यले प्राविधिक ज्ञान र अनुभवको आदान–प्रदानसँगै नेपाली इन्जिनियरहरूका लागि अन्तर्राष्ट्रिय अवसर विस्तार गर्न तथा नेपालको पूर्वाधार विकासमा नवीन प्रविधि र उत्कृष्ट अभ्यास भित्र्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *