गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण

साउन । जैविक विविधताले भरिपूर्ण हिमाली जिल्ला रसुवाको गत्लाङ वन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘क्युआर कोड’ पुस्तकालय निर्माण गरिएको छ । करिब १७ वर्ष अगाडि लागेको डढेलोबाट भग्नावशेष बनेको वनको पुनरुत्थान गर्दै यहाँका रूखहरूमा ‘क्युआर कोड’ टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) वन विज्ञान अध्ययन संस्थानले ‘वनभित्रको पुस्तकालय’ अवधारणाअन्तर्गत यो परियोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । विसं २०६५ मा आमाछोदिङमो गाउँपालिका-३ गत्लाङको ज्यार्सा गोठेन सामुदायिक वनमा करिब १०० दिनसम्म लागेको डढेलोले ४६६ हेक्टर क्षेत्र नष्ट गरेको थियो ।

भग्नावशेष वनको पुनरुत्थानका लागि जिल्लास्थित डिभिजन वन कार्यालय, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र त्रिवि वन विज्ञान अध्ययन संस्थानको संयुक्त सहकार्यमा यही साउन १२ गते ड्रोनमार्फत २३० किलो स्थानीय घाँस प्रजातिका बिरुवा छरेको छ ।

पुनर्जीवित वन क्षेत्रलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न त्रिविले वनभित्र प्रविधिको प्रयोग गरेको हो । “यो पुस्तकालयमा भौतिक पुस्तकहरू छैनन् । वनका रूखमा काठबाट बनेका क्युआर कोड टाँसिएका छन् । हाल वन क्षेत्रमा ४७ वटा र आमाछोदिङ्मो गाउँपालिका कार्यालयमा तीन कोड राखिएका छन्”, परियोजनाको नेतृत्व गरिरहेका प्राध्यापक राजेश राईले भने ।

उनका अनुसार क्युआर कोडमार्फत सिधैँ त्रिविको वेबसाइटमा राखिएका ज्ञानवर्द्धक सामग्रीहरू पढ्न सकिन्छ । “हाल यसमा २० वटा सामग्री उपलब्ध छन्, जसलाई वन विज्ञानका विद्यार्थीले सङ्कलन र लेखन गरेका हुन् । यी सामग्रीहरूलाई प्रत्येक वर्ष परिमार्जित गर्दै लग्नेछौँ”, उनले भने ।

प्राध्यापक राईका अनुसार भौतिक पुस्तकालय बनाउनुभन्दा क्युआर कोड प्रविधि अपनाउँदा मानिसमा चासो र अन्तरक्रिया बढ्ने तथा लागत पनि कम पर्ने देखिएपछि यो बाटो रोजिएको हो । “जङ्गलभरि क्युआर कोड राखिदिएपछि पदयात्रामा हिँडेर थकाइ मार्न बसेका मानिसले कोड स्क्यान गरेर हेरेपछि जानकारी लिन सक्छन्”, उनले भने, “त्रिविकै वेबसाइटअन्तर्गत अलग पेज बनाएर सामग्री राख्दा संसारको जुनसुकै कुनाबाट पनि यसको सञ्चालन र मर्मत गर्न सकिने भएकाले यो भौतिक पुस्तकालयभन्दा दिगो हुने विश्वास छ ।”

प्राध्यापक राईका अनुसार यो केबल क्युआर कोड मात्र नभएर जङ्गल, समुदायका कथासँग जोड्ने एउटा खुला पुस्तकालय हो । वन क्षेत्रमा पदयात्रा गर्नेहरू मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका व्यक्तिले पनि इन्टरनेटका माध्यमबाट यी सामग्री अध्ययन गर्न सक्छन् ।

प्रचारप्रसारका लागि बजारमा क्युआर कोड अङ्कित चाबी राख्ने छल्ला (किरिङ) पनि ल्याइएको उनले जानकारी दिए । उनका अनुसार हाल उपलब्ध सबै सामग्री अङ्ग्रेजी भाषामा रहेकाले तिनलाई चाँडै नेपाली भाषामा पनि उपलब्ध गराउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *