काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला प्रहरी परिसर अगाडि पत्रकारहरुले धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् । शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका थिए । उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । त्यसक्रममा पत्रकारहरुले बलिरहेको लाल्टिनसमेत बोकेर प्रदर्शन गरेका थिए । प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई गएराति पक्राउ गरेको थियो ।
प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ । त्यस्तै आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा छापासमेत मारेको थियो । महासंघले पत्रकार श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
