कांग्रेसको विवाद पुनरावलोकन गर्ने सर्वोच्चको आदेशको संकेत

-ऋषि कट्टेल ।

सर्वोच्च अदालतले कांग्रेसको विवाद पुनरावलोकन गर्ने आदेश गरेपछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । यसले नेपालको राजनीतिमा भाद्र २४ ले कायम गरेको शक्ति सन्तुलनमा तलमाथि हुने संकेत देखाएको छ । भाद्र २४ ले केवल आन्तरिक शक्ति सन्तुलनमा मात्र फेरबदल आएको हैन वाह्य शक्ति सन्तुलनमा समेत फेरबदल ल्याएको छ । जसले नेपालको आन्तरिक राजनीतिमा वाह्यशक्ति केन्द्रहरुको अनुचित चलखेल र प्रतिस्पर्धा ल्याएको छ । सिंगो राजनीतिमा आएको फेरबदलले दलहरुको आन्तरिक अन्तरविरोधहरुमा पनि असर नपर्ने कुरै भएन । भाद्र २४ ले संसदवादी दलहरुबीचको अन्तरविरोधलाई जसरी शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरण गरिदिएकोले दलहरुको आन्तरिक अन्तरविरोधहरु पनि त्यही मात्रामा मुखरित भैरहेका छन् । गगन–देउवाबीच विकास भएको अन्तरविरोधको जग पनि भाद्र २४ नै हो । गगन थापाहरु भाद्र २४ को पक्षधर रहे भने देउवाहरु त्यसको विपक्षमा रहे । गगनहरुको मान्यता विधान, दलीय परम्परा वा वैधानिक आधारमा भएको हैन । निर्वाचन प्रक्रिया सुरु भैसकेपछि एउटा सामान्य कर्मचारिको सरुवासम्म हुदैन भने त्यो निर्वाचन प्रक्रियामा संलग्न भैसकेको दलको विवाद त्यो निर्वाचन प्रक्रिया समाप्त नभैकन सुनुवाइ गर्ने विषय नै होइन । गगन थापाको मान्यता केवल भाद्र २४ को प्रायोजकको आदेश तामेली मात्र हो । उसमा कुनै वैधानिकता छैन ।

जहाँसम्म नेपाली कम्युनिष्टहरुले कांग्रेससँग गर्ने सहकार्य र संघर्षको प्रश्न छ कांग्रेससँग सहकार्य होइन संघर्ष प्रधान बनेको छ । यसवारे नेपाल कम्युनिष्ट पार्टीको जनकपुर सम्मेलनले राजनीतिक शक्तिहरु खासगरि कांग्रेसबारे गरेको विश्लेषण याहाँ साभार गरेको छु ।

नेपाली कांग्रेस, लोसपा जस्ता दलहरू मुलतः पूँजीवादको प्रतिनिधित्व गर्दछन् । क.पुष्पलालले कांग्रेसको वर्ग चरित्र असंगतिपूर्ण रहेकाले यसमा तीनवटा प्रवृत्ति रहेको उल्लेख गरेका छन् । पहिलो सामन्त दलाल तथा नोकरशाही पूँजीवादका पृष्ठपोषकहरू, दोस्रो उदार पूँजीवादीहरू र तेस्रो लोकतान्त्रिक समाजवादीहरू । क.पुष्पलाल लेख्छन्,’नेपाली कांग्रेसप्रति हाम्रो नीति प्रष्ट छ पहिलो विचारधाराको घोर विरोध गर्नु, दोस्रो विचारधारालाई संघर्षको पक्षमा तान्नु र तेस्रो विचारधारासँग तलैदेखि बलियो एकता कायम गर्नु।’

हिजो राजा रहँदा यिनीहरू राजतन्त्रवादी, संवैधानिक राजावादी र गणतन्त्रवादी थिए । आज देशमा गणतन्त्र स्थापना भैसकेकोले वर्तमानमा सामन्ती दलाल तथा नोकरशाही पूँजीवाद तथा विश्व पूँजीवाद÷साम्रज्यवादको यसलेनै वर्गीय नेतृत्व गर्ने छ र नयाँजनवादी क्रान्तिको लागि यो मूख्य बाधक बन्ने छ । अरू संसदवादीहरू सहयोगीको भूमिकामा रहनेछन् । यति हुँदाहुँदै पनि विगतमा सामन्ती निरंकुशतन्त्रको विरूद्ध संघर्ष गरेको इतिहास भएकोले यसका भुइँतहका कार्यकर्तामा सामन्तवाद साम्राज्यवाद विरोधी धारणा अझै कायमै रहेको छ । भ्रमवस ठूलो संख्यामा उत्पीडित वर्ग समुदायका जनता यो दलमा संगठित छन् । उनीहरूलाई समेत जनक्रान्तिमा सहभागी गराउन यसको वर्ग चरित्र र नेतृत्वलाई नङ्गयाउदै भुइँतहका कार्यकर्ताहरुसँग संघर्ष उपयोग संघर्षको नीति अवलम्वन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *