बेरुत । इरानले मध्यपूर्वका व्यापारिक मार्ग, सामुद्रिक जलमार्ग र ऊर्जा पूर्वाधारलाई रणनीतिक दबाबको माध्यम बनाउँदै अमेरिकासँग भविष्यमा हुने वार्तामा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको विश्लेषकहरू र खाडी क्षेत्रका अधिकारीहरूले बताएका छन्।
रोयटर्सका अनुसार तेहरानले निर्णायक सैन्य विजयभन्दा पनि पूर्ण युद्ध नहोस् भन्ने गरी योजनाबद्ध रूपमा तनाव बढाउने रणनीति अपनाएको छ। यसमार्फत अमेरिका र उसका सहयोगीहरूलाई होर्मुज जलडमरूमध्यसम्बन्धी इरानका माग स्वीकार गर्नु नै संकट नियन्त्रण गर्नुभन्दा कम महँगो विकल्प हुने सन्देश दिन खोजिएको बताइएको छ।
विश्लेषकहरूका अनुसार वासिङ्टनले इरानलाई होर्मुज क्षेत्रमा थप भूमिका दिने नयाँ यथास्थिति स्वीकार नगरे द्वन्द्व खाडी क्षेत्रभन्दा बाहिर पनि फैलिन सक्ने संकेत तेहरानले दिएको छ। विभिन्न सामुद्रिक मार्ग र ऊर्जा पूर्वाधारलाई जोखिममा पार्दै भविष्यका वार्तामा आफ्नो पकड बलियो बनाउने इरानको रणनीति रहेको उनीहरूको भनाइ छ।
वासिङ्टन इन्स्टिच्युटका विश्लेषक माइकल नाइट्सले इरानले हरेक साता नयाँ क्षेत्र, नयाँ हतियार वा नयाँ लक्ष्य प्रस्तुत गर्दै तनावलाई क्रमिक रूपमा विस्तार गरिरहेको बताए। उनका अनुसार इरानको मुख्य शक्ति अमेरिका वा इजरायललाई प्रत्यक्ष क्षति पुर्याउनुमा नभई क्षेत्रीय मुलुक र विश्व अर्थतन्त्रमा असर पार्न सक्ने क्षमतामा रहेको छ।
रिपोर्टअनुसार इरानले विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गर्न सक्ने क्षमता देखाइसकेको छ। त्यससँगै रातो सागर र साउदी अरबको ऊर्जा पूर्वाधारप्रति बढ्दो धम्कीले विश्व व्यापारको सुरक्षा लागत बढाउने तथा अमेरिका यस्तो अवरोधप्रति कति सहनशील छ भन्ने परीक्षण गर्ने प्रयाससमेत भइरहेको विश्लेषण गरिएको छ।
खाडी क्षेत्रका एक स्रोतका अनुसार इरानी रिभोलुसनरी गाड्र्सका कमाण्डरहरूले आफूहरू थप रणनीतिक लाभ लिन सक्ने विश्वास गरेका छन्। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अर्को मध्यपूर्वीय द्वन्द्वमा गहिरो रूपमा संलग्न हुन नचाहने आकलन गरेको पनि रिपोर्टमा उल्लेख छ।
