सरकारलाई निर्देशन दिनुपर्ने रवि किन आग्रह गर्दैछन् ?

काठमाडौँ । आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको विवादमा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भयो भने एक दर्जन जतिलाई गोली लाग्यो । घटनापछि सुनसरी, मोरङ, सिरहालगायतका आसपासका जिल्ला अशान्त छन् । सुनसरीका केही क्षेत्रमा त अहिले पनि कफ्यू लगाइएको छ । घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायमा प्रमुखलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिएको छ । त्यस्तै सेना परिचालन गरिएको छ । सेना परिचालन गरिएपनि आगजनी र तोडफोडका घटना भइरहेका छन् । सरकारले घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ र समितिले काम पनि थालिसकेको छ ।

घटना भएको तेस्रो दिनसम्म विगतमा छापामार शैलीमा सीमा क्षेत्रमा जासुस बनेर पुग्ने, अनि कतै गाडी दुर्घटना भयो भने उद्धारका लागि भन्दै आफैँ पुग्ने गृहमन्त्री सुदन गुरुङ यो घटनापछि सिंहदरबारबाट बाहिर निस्कन सकेका छैनन् । अर्थात् उनी सुनसरी पुग्न सकेका छैनन् । आफ्नै दलका सांसदले बुझाएको ज्ञापनपत्र बुझ्ने र केन्द्रीय सुरक्षा समितिको बैठक राखेर बसेका छन् । अनि गन्तब्यमा नपुगी सरकारको गाडीको ब्रेक लाग्दैन भन्ने प्रधानमन्त्री घटना भएको तीन दिनसम्म मौन रहे । मंगलबार मध्यरातमा मात्रै सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यसअघि साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विज्ञप्ति जारी गर्न लाएका प्रधानमन्त्रीलाई मौन बसेको भन्दै धेरै आलोचना भएपछि मध्यरातमा फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यत्रो सामाजिक सद्भाव खलबलिन लाग्दासमेत सरकारबाट कुनै सम्बोधन नभएपछि मंगलबार सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे । उनले विज्ञप्तिमा भनेका छन्, ‘यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

सरकार सेना परिचालन पछि सब ठिकठाक हुन्छ भनी बस्ने र कुनै सम्बोधन नगरेपछि सत्तारुढ पार्टीको सभापतिले सरकारसँग याचना गरेपछि रविको भूमिकालाई लिएर आलोचना भएको छ । सत्तारुढ दलको पार्टी सभापतिले माग गर्ने नभई निर्देशन दिनुपर्नेमा किन यस्तो भने भन्दै उनको आलोचना भएको हो । कवि तथा लेखक डा. रामप्रसाद ज्ञवालीले रवि सरकारसामु लाचार र निरीह भएका हुन् भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संजालमा ज्ञवालीले यस्तो लेखेका छन्ः

मलाई लाग्छः रास्वपा सभापति रविजीले धार्मिक दङ्गामा गोली खाएर मारिएका मृतकहरू तथा गोली लागेर घाइते भएकाहरूको न्यायका लागि सरकारसँग माग गर्ने होइन, उनले त सरकारलाई आदेश पो दिनुपर्ने हो किनभने सरकार उनकै पार्टीको नेतृत्वमा छ, उनले नै बनाएका हुन् । होइन भने अहिलेको सरकारसामु उनी लाचार र निरीह छन् भनेर मान्नुपर्ने हुन्छ ।

आपसमा मिलेर बसेका नेपालीहरूलाई विदेशी दलालहरूबाट जात, धर्म, क्षेत्र, लिङ्ग आदिका नाममा विभाजित गर्ने, जुधाउने, विद्वेष फैलाउने र मारकाट मच्चाउने षड्यन्त्र र प्रयास गणतन्त्रको स्थापनापूर्व पनि अलि अलि भएको हो भने गणतन्त्रको स्थापना भएपछि अलि बढी मात्रामा गरिँदै आएको हो । अहिले फेरि त्यही प्रयास दोहोर्याइएको छ । यस्तो षडयन्त्रमा नफस्न, नबहकिन र स्वार्थी राजनीति र दुष्ट भँडुवाहरूको चपेटामा नपर्न सम्पूर्ण नेपालीहरूलाई मेरो विनम्र अनुरोध छ ।

देश र जनताका विरुद्ध हत्याहिंसा, आगजनी, विध्वंस, लुटपाट गर्नेहरू अपराधी र देशका शत्रु हुन्; तिनको पक्ष लिने पनि अपराधी नै हुन् । यस्ता अपराधीलाई तत्कालै कारबाही गरियोस् ! आफूलाई सचेत ठान्ने र देशलाई माया गर्ने सबै नेपालीले नेपाललाई हिंस्रक द्वन्द्वमा होम्नेहरूप्रति सचेत र कठोर बन्नु जरुरी छ । देश जुनसुकै जात, धर्म, क्षेत्र, लिङ्ग आदिको तुच्छ स्वार्थभन्दा माथि हुन्छ । सबैलाई चेतना भया !

प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाएपछि रास्वपा सभापति लामिछानेले आज बिहान सर्वदलीय बैठक बोलाए । बैठकमा नेपाली काग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री डा. स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत सहभागी भए । तर बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुबै गएनन् ।

बैठकमा कांग्रेस सभापति गगन थापाले बैठक बोलाएकोमा लामिछानेलाई धन्यवाद दिँदै भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ । यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?’

त्यस्तै नेकपाका संयोजकले पनि प्रधानमन्त्रीको कामकारबाहीप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री आफैं अग्रसर हुनुपर्नेमा त्यसो नहुँदा कतै सरकार नै रविलाई निरीह बनाउँदै त छैन भन्ने प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *