माउन्ट एल्ब्रसमा नेपाली गौरव : चतुर तामाङको २००औँ सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) २००औँ पटक सफलतापूर्वक आरोहण गर्दै नेपाली पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

रुसको समयअनुसार जुलाई २५ शनिबार बिहान ६:२० बजे एल्ब्रसको शिखरमा पुगेका तामाङले २००औँ सफल आरोहण पूरा गरेका हुन्। एल्ब्रसमा २०० पटक सफल आरोहण गर्ने उनको उपलब्धिलाई विश्व पर्वतारोहण क्षेत्रकै दुर्लभ उपलब्धिका रूपमा हेरिएको छ।

तामाङले जुलाई २२ मा अन्तर्राष्ट्रिय टोलीसँग १९८औँ तथा जुलाई २३ मा अर्को टोलीसँग १९९औँ सफल आरोहण गरेका थिए। त्यसपछि जुलाई २५ मा उनले आफ्नो बहुप्रतीक्षित २००औँ आरोहण सम्पन्न गरेका हुन्।

२००औँ आरोहणका क्रममा तामाङले एल्ब्रसको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। उनले प्रत्येक आरोहणमा नेपाली झण्डा शिखरसम्म पुर्‍याउँदै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई निरन्तर प्रवर्द्धन गर्दै आएका छन्।

सोलुखुम्बुमा जन्मिएका तामाङ सन् १९९५ देखि व्यावसायिक पर्वतारोहणमा सक्रिय छन्। सन् २००२ देखि रुसमा बसोबास गर्दै आएका उनले त्यहीँबाट एल्ब्रस हिमाल २०० पटक आरोहण गर्ने लक्ष्य तय गरेका थिए, जुन अहिले सफलतापूर्वक पूरा भएको हो।

हाल उनी नेपाल र रुसबीच समय बाँड्दै नेपालमा रुसी आरोहीलाई विभिन्न हिमाल आरोहण गराउने तथा रुसमा अन्तर्राष्ट्रिय आरोहीलाई एल्ब्रस आरोहण गराउने कार्यमा सक्रिय छन्।

एल्ब्रसबाहेक तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनास्लु, अमादब्लम, बरुण्त्से, आइल्यान्ड पिक र मेरा पिकलगायतका हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *