काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान बस्ने बैठकमा संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यको भनाइ छ ।
महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको बताए ।
